हरिहर–शकुन्तला दम्पतीलाई शिव–पार्वती सम्मान



ख्यातिप्राप्त अभिनेता–अभिनेतृ दम्पती हरिहर शर्मा र शकुन्तला शर्मालाई शिव–पार्वतीका रूपमा सम्मान गरिएको छ। फेसियल हाउसले तीज विशेष कार्यक्रमका बीच कलाकार शर्मा दम्पतीलाई शिव–पार्वतीका रूपमा सम्मान गरेका हो।
हरितालिका तीजको पूर्वसन्ध्या पारेर मंगलबार राजधानीमा आयोजित कार्यक्रममा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न फेसियल हाउस तीज महोत्सव–२०७६ मा हरिहर र शकुन्तलालाई सम्मान गरिएको हो।

नेपाली वाङ्मयका विभिन्न विधाका साथै नेपाली नाटक तथा फिल्म क्षेत्रमा शर्मा दम्पतीले पुर्याएको योगदानको कदर गर्दै जीवनको हरेक पाइलामा अविचलित रही एक–अर्काको सारथी बनेर अगाडि बढिरहेका हरिहर र शकुन्तला दम्पतीलाई शिव–पार्वती जोडीको संज्ञा दिँदै सम्मान गरिएको फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले बताइन्।

कार्यक्रममा सभामुख कृष्णबहादुर महराको धर्मपत्नी सीता महरालाई महिला सशक्तीकरणका लागि लोकतान्त्रिक आन्दोलनमा सामेल भएबापत लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो। त्यसै गरी चलचित्र पत्रकार संघ नेपालको आयोजनामा आगामी भदौ १८ देखि २० गतेसम्म पोखरामा हुने कार्यशाला गोष्ठीको सफलताको शुभकामानसहित २५ हजार रुपियाँ आर्थिक सहयोगसमेत प्रदान गरियो।

कार्यक्रममा सुष्मा महराको शब्द, गायिका मीना निरौलाको स्वर तथा नायिका नीता ढुंगानाको अभिनय रहेको तीज गीत तीज आयोको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो। म्युजिक भिडियो सार्वजनिक गरिएपश्चात् गायिका निरौलाले आफ्नो सांगीतिक प्रस्तुति राखेकी थिइन्।

कार्यक्रममा फेसियला हाउसकै आयोजनामा सम्पन्न तीज फोटो कन्टेस्टका विजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो। फोटो कन्टेस्टमा मनीषा ओझा प्रथम, रञ्जु थापा द्वितीय र पूजा देवकोटा तृतीय भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्