लन्डनमा चार्टेड एकाउन्टेन काम गर्दै फिल्म खेल्दै



विक्रमदास जोशी अर्थात् बिक्की जोशी। हिजोआज यो अनुहार नेपाली फिल्ममा छाउन थालेको छ। मिलन चाम्सद्वारा निर्देशित फिल्म ह्याप्पी डेजबाट नेपाली रजपटमा प्रवेश गरेका बिक्की त्यसपछि हेलो जिन्दगी र पासवर्डमा अभिनय गरेका छन्।

यी दुवै फिल्म रिलिजको तयारीमा छ। ह्याप्पी डेजमा नायिका प्रियंका कार्कीको अपोजिटमा देखिएका उनी आगामी भाद्र २७ गते रिलिजमा आउन लागेको पासवर्डमा पूर्वक्यानेडियन पोर्नस्टार तथा बलिउड अभिनेतृ सन्नी लियोनसँग आइटम डान्समा प्रस्तुत भएका छन्। हेलो जिन्दगीमा भने दीपिका प्रसाईंका साथ देखिनेछन्।

२१ वर्षदेखि लन्डनमा व्यस्त चार्टड एकाउन्टेनका रूपमा सक्रिय उनी बस्छन् लन्डनमै, तर खेल्छन् नेपाली फिल्ममा। भीमसेनस्थान घर भई बबरमहल बस्दै आएका उनलाई फिल्ममा खेल्ने रहर पहिलेदेखि नै रहेछ।

सन् २००४ मा लोकप्रिय गायक दीप श्रेष्ठको कहीं कतै तिम्रो जीवनमा बोलको गीतमा उनकै दिदी सिर्जना जोशीले निर्देशन गरेको म्युजिक भिडियोमा मोडलिङ गरेपछि उनको करियर शुरू भयो। निर्माता निर्देशक मिलन चाम्ससँग लन्डनमै भेट भएपछि भने उनको करियरले ठाउँ लियो।

मिलनले निर्देशन गरेका एक/दुई म्युजिक भिडियामो मोडलिङ गर्दा गर्दै मिलनेल उनलाई ह्याप्पी डेजमा लिए। ‘नेपालप्रतिको मायाले नै नेपाली फिल्मप्रति झुकाव बढ्यो। फिल्मप्रति सानैदेखिको मोह र मायाले अभिनय र फिल्म मेकिङबाट सिनेमालाई केही गरौं भन्ने विचारले फिल्म क्षेत्रमा आएँ।

ह्याप्पी डेज गरेपछि फिल्मप्रतिको मोह झनै बढेर गयो। त्यसपछि निरन्तर काम गरिरहेको छु। अब त फिल्मप्रतिको आकर्षण झन् बढेर गएको छ’, उनी भन्छन्– ‘वर्षमा एक/दुई चोटी नेपाल आएर काम गर्न गाह्रो हुँदैन। फेरि मैले काम गरेका प्रायः फिल्मको सुटिङ नै लन्डनमै भइरहेको छ।’

उनको पत्नी हिरल जोशीले फिल्म निर्माणका लागि लन्डनमै फिल्म निर्माण कम्पनी पनि खोलेकी छिन्। ‘नेपाली सिनेमाको मेकिङ र मार्केट पहिलाकोभन्दा धेरै विकास भइसकेको छ। अबको मार्केट भनेको फरक खालको सिनेमा बनाएर नेपाली सिनेमालाई विश्वसामु चिनाउनुपर्छ भन्ने सोचले गर्दा फिल्मप्रति आकर्षित भएँ।

फिल्म भनेको मनोरञ्जन मात्र होइन विचार पनि हो। यो क्षेत्रमा जानेको, बुझेको र पढेको मान्छे अझै आउनुपर्छ र उनीहरूको विचार फिल्ममार्फत राख्नुपर्छ’, बिक्की भन्छन्– ‘लन्डन अहिले नेपाली फिल्मको हब नै भइसकेको छ।

यहाँ कुनै न कुनै फिल्मको सुटिङ भई नै रहेको हुन्छ। यो पनि नेपाली फिल्मको विकास नै हो भन्नुपर्छ। यसले मलाई चाहिँ फाइदा भएको छ। नेपालमा काम गर्दा हामी टाइमको ख्याल राख्दैनौं। यहाँ हरेक कुरा टाइममा गर्नुपर्छ। मलाई यहाँको सिस्टममा काम गर्ने बानी परिसकेको छ।

त्यही भएर मलाई यही काम गर्न सजिलो लाग्छ। लक्किली मैले काम गर्ने फिल्मको कथावस्तु यहाँकै विषयमा परिरहेको छ। तर, हामी कलाकार भएकाले जहाँसुकै गएर पनि काम गर्न सक्नुपर्छ।’

बिक्कीले धेरै फिल्म खेलीनसके पनि थोरै फिल्मबाटै राम्रो प्रतिक्रिया पाएका रहेछन्। ‘ह्याप्पीडेजबाटै राम्रै प्रतिक्रिया पाएँ। ह्याप्पी डेजको लुक्स र कामले बलिउडबाट अफर आइरहको छ।

सम्भवतः यो वर्ष नै बलिउडमा काम गर्छु होला’, सन्नी लियोनीसँग काम गरेका अनुभव शेयर गर्दै उनले भने– ‘साँच्चै भन्नुपर्दा बलिउडबाट हामीले धेरै कुरा सिक्नुपर्छ। सनी लियोनीसँगको गीतमा सबै टेक्निसियन बलिउडका थिए। उनीहरूको काम गर्ने तरिका नै फरक छ।

सन्नीको त म फ्यान नै हो, उहाँसँग काम गर्दा धेरै कुरा सिक्न पाएँ।’ आगामी दुवै फिल्ममा बिजनेसम्यानको भूमिकामा अभिनय गरका बिक्कीलाई अब भने एक्सन भूमिकामा अभिनय गर्न मन छ। ‘मलाई मन पर्ने एक्सन जनरा नै हो।

मलाई यसमै सुहाउँछ जस्तो लाग्छ। त्यही भएर आगामी दिनमा अलि फरक खालको एक्सन मुभीमा आउने मन छ।’ –उनी भन्छन्।

 

प्रतिक्रिया दिनुहोस्