आयो मारुनीको झटारो



आगामी शुक्रबार अल नेपाल रिलिज हुने फिल्म मारुनीको तेस्रो गीत सार्वजनिक गरिएको छ। जाम्न माया जाम र सक्दिनँ बाँच्न बोलका दुई गीतपछि लोकलयमा आधारित हाने मैले झटारो बोलको गीत सार्वजनिक गरिएको हो।

अञ्जु पन्त र कृष्ण काफ्लेको स्वर रहेको यो गीतमा पुरुषोत्तम ढुंगेल र कृष्ण काफ्लेको शब्द र कृष्णकै संगीत रहेको छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नायक पुष्प खड्का र नायिका रेबिका गुरुङलाई फिचरिङ गरिएको छ।

गीतले पुष्प र रेबिकाको सम्बन्ध प्रस्ट्याएको छ। यसअघि फिल्मको ट्रेलरले दर्शकको मन जितिसकेको छ। फिल्ममा नायिका साम्राज्ञीराज्यलक्ष्मी शाह मुख्य भूमिकामा छिन्। फिल्मको प्रचारका लागि निर्माण संस्थाले कलाकारका साथ देशका विभिन्न क्षेत्रमा आयोजित कन्सर्टले यो फिल्मप्रति दर्शकको ध्यान आकर्षित गरेको छ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा फेसन डिजाइनर पुनम गौतमले निर्माण गरेको फिल्ममा दर्शना केसी, मीना क्षत्री र राजा प्रधान सहनिर्मातामा रहेका छन्। फिल्ममा पुष्प, साम्राज्ञी र रेबिकासँगै विनोद भट्टराई, शंखर सेढाईं, अर्जुन श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन्।

नवल नेपालको निर्देशन र गोविन्द फुयालको कथा रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ। सञ्जय लामाको छायांकन रहेको फिल्म मित्र डी गुरुङले सम्पादन गरिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्