एनओसी निर्वाचन भदोमा हुने



काठमाडौं, (नेस)  ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन आगामी भदो २० गते हुने भएको छ । सोमबार बसेको एनओसीको कार्यसमिति बैठकले भदो २० (सेप्टेम्बर ६) मा निर्वाचन गर्ने मिति तय गरेको हो । एनओसीले सेप्टेम्बरको पहिलो साता निर्वाचन गर्ने तयारी सहित अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा पत्राचार गरेको थियो । आईओसीले प्रस्तावित मितिलाई स्वीकृती दिएसंगै एनओसीले निर्वाचनको मिति तोकेको हो ।

बैठकले निर्वाचन सम्पन्न गर्न अधिवक्ता लोकभक्त राणाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिमा अधिवक्ता राधिका खतिवडा र अधिवक्ता सुरेन्द्र थापा रहेका छन् । पछिल्लो निर्णयसंगै दक्षिण एसियाली खेलकुद (साग) अगाडी नै एनओसीको नयाँ कार्यसमितिका लागि निर्वाचन हुने पक्का भएको हो ।

विधान संशोधन हुने
सोमबारै बसेको एनओसीको बिशेष साधारण सभाले निर्वाचन अघि नै विधान संशोधन पनि गर्ने निर्णय समेत गरेको छ । जसअनुसार एनओसीको नयाँ कार्यसमिति अब १९ सदस्यीय हुने भएको छ । वर्तमान कार्यसमिति भने १७ सदस्यीय रहंदै आएको छ ।

साधारण सभाले एक उपाध्यक्ष र तीन सचिव थप गर्दै सदस्य संख्यालाई ९ बाट ३ मा घटाउने निर्णय गरेको छ । साधारण सभाको निर्णय अनुसार एक अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, १ सह महासचिव, १ कोषाध्यक्ष, ३ सचिव र ७ सदस्य रहनेछन् ।

बैठकले अब कुनैपनि पूर्व अध्यक्षलाई मानार्थ अध्यक्षमा मनोनित गर्न पाउने प्रावधान समावेश गरेको छ । यसअघि निवर्तमान अध्यक्ष नै एनओसीको मानार्थ रहने प्रावधान थियो ।

गल्फलाई मताधिकार
त्यस्तै नेपाल गल्फ संघ पनि एनओसीसँग आधिकारिकरुपमा आबद्ध भएको छ । एनओसीको विशेष साधारण सभाले गल्फलाई मताधिकार दिने निर्णय गरेको एनओसीका पदाधिकारी सुजनलाल श्रेष्ठले नेपाल समाचारपत्रलाई बताउनुभयो । श्रेष्ठले भन्नुभयो—पहिले २६ संघ मताधिकारमा थिए । अब आगामी सेप्टेम्बर ६ मा हुने चुनावमा गल्फले पनि भाग लिने अधिकार भएको छ ।

योसँगै आगामी भदौ २० गते हुने एनओसी चुनावमा २७ खेल संघले मतदान गर्ने पाइनेछन् । यसअघि पनि गत महिनामा एनओसीको बैठक बसेको थियो । गल्फ, रोइङ, आइस हक्की र प्यान्टाथोलन संघहरुले मताधिकार पाउन प्रस्ताव राखिएको थियो । तर चारैवटा संघको प्रस्ताव अस्विकृत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्