हाई लिभिङ हाई थिङ्किङ



कमल ढकाल

संयोग न हो जिन्दगी । यो बन्छु भनेको मान्छे त्यो बन्छ । त्यो बन्छु भनेको मान्छे यो बन्छ । यो र त्यो को फाइटमा नै जिन्दगी अड्केको छ । नसोचेको कुरा पूरा हुन्छ । सोचेको कुरा पूरा हुँदैन सायद त्यसलाई नै संयोग भनिन्छ ।
फ्याट्ट बनेको संयोगको निरन्तरतामै मान्छे रुमल्लिन्छ । जे गरे नि राम्रो गर्छु भन्ने मान्छे जुन संयोगमा पनि माथि नै पुग्छ । ठीकै छ नि विस्तारै भइहाल्छ भन्ने मान्छे अलि पछि नै पर्छ ।

पुरानो बानेश्वरको चोकमा केही दशक अगाडि बरालिएर हिँड्ने केटोलाई आज समयले अधबैंशे बन भनेको छ । समयको आदेश मानेर लुरुलरु हिँड्नै प¥यो । समयको त्यही संयोगका मोडसँगै हराउँदा कहिले केटो प्यारोडी गायक बन्यो । कहिले फिल्म खेल्ने मान्छे त कहिले तबला वादक ।

जीवनमा संयोग जुराउने भनेको साथीभाइ र परिवारले हो । फेरि संयोग यस्तो चिज हो । त्यसले अर्काे संयोगलाई नाकमा नत्थी लगाएर सँगै ल्याउँछ । प्यारोडी गाउँदैमा मग्न निर्मललाई लागेको थिएन कुनै दिन एड्भरटाइजिङ एजेन्सी चलाउँछु भन्ने । चलाए पनि यति बिध्न हिट यही फिल्डबाट हुन्छु भन्ने त सोचेका पनि थिएनन् । नसोचेको सपनाले जब विपनासँग मितेरी गाँस्छ । त्यहाँ कुरा बेग्लै हुन्छ ।

चार हास्य एल्बम निकालेर मग्न थिए निर्मल । २०५० सालमा सर्वोत्कृष्ट हास्यव्यंग्य अवार्ड पाउँदा निर्मल जति फुरुङ्ग को थियो र । त्यति विधि ख्याति पाएका निर्मलले कहिले सोचेनन् हास्यव्यंग्यबाहेक अर्काे फिल्डमा उनी लाग्छन् भनेर । कसम, प्रियसी, आमा पुकारलगायतको फिचर फिल्म र चर्चित नमस्ते काठमाडौंलगायत अन्य टेलिसिरियल खेल्दा यही पो पेसा बन्छ कि भन्ने उनलाई लागेको थियो । त्योभन्दा अगाडि बानेश्वरमै खोलेको पसलमा हुँदा पसले हुन्छु भन्ने लाग्यो । गार्मेन्टदेखि गाडीसम्मको काम गर्दा त्यही पेसा हुन्छ भन्ने लाग्यो । २२ वर्ष अगाडि विगो वासिङ पाउडर र हयान्सोफोनको टीभीसी एड बनाए । सबै रेडियो र टिभीका एड आफैं कम्पोज गर्ने उनलाई आफू एड एजेन्सीमा मालिक हुन्छु भन्ने पनि त्यति बेलासम्म लागेन ।

जब एक इन्डियनले साथीले निर्मल तँ त मल्टिट्यालेन्ट मान्छे छस् यार एड एजेन्सी खोल भन्यो त्यहींबाट उनको मनमा एडको जन्म भयो । क्रियटिभ दिमागका धनी निर्मलले तत्काल नाम जुराए वेलकम एड्भरटाइजिङ एजेन्सी । त्यो कुरा २६ वर्ष अघिको हो । कामै गर्नलाई स्लोगान बन्यो । इनिसिएसन, इनोभेसन क्रियसन । जता खन्यो उतै बाटो बन्योको शैलीमा उनले एड एजेन्सी चलाएका थिए । सल्लाह दिने इन्डियन साथी यहाँ बसेनन् । निर्मलले वर्किङ पार्टनर राखे उनीहरुले पनि धोका दिए । रातभर करायो दक्षिणा हरायोको ताल भयो । अहिले पनि वेलकममा धोका छ तर उनी धोकाले नदुख्ने भइसकेका छन् ।

एड एजेन्सी खोलेर पैसा कमाउँला भने पनि उनलाई हास्यव्यंग्य एल्बमले तातो लगाएको थियो । त्यसैले निर्मलले एडमा ध्यान दिन पाएनन् । भित्रभित्रै धमिराले खाएको रुख ढलेपछि चाल पाएजस्तै उनले पनि एकैपटक ३२ लाख मिडियालाई तिर्न परेपछि झस्किए । तिर्न पर्ने खातामा ३२ थिएन । जब आफ्नो विश्वासले आफ्नै अगाडि आत्महत्या गर्दा मान्छे पीडाले बौलाउन पनि सक्छ । उनलाई आफ्ना साथीभाइले दिएका ठूलो चोटपछि उनी बिउँझिए । लाग्यो अब एड नै गरेर देखाउँछु ।

२६ वर्ष अगाडि बानेश्वरमा पाँचलाखमा एक रोपनी आउँथ्यो । उति बेलाको पैसा त्यसरी चुर्लुम्म डुब्दा उनको मनमा लाग्यो । आगोले पोलेको घाउ आगोले सेकेरै निको पार्छु । हो त्यही इखका कारण नै आज वेलकम टप फाइभमै छ ।
मान्छे जब आफू बन्छ त्यसपछि उसलाई समाज बनाउन मन लाग्छ । उनी बसेको समाज भनेकै एड एजेन्सीको समाज थियो । केही त गर्नै प¥यो भनेर खुब घोत्लिए निर्मल । घोत्लाइले एकान्त खोज्छ । एकान्तले राम्रो योजना बनाउँछ । योजना बनेपछि त्यसले आफंै बाटो लिन्छ ।

निर्मललाई पनि लाग्यो राष्ट्रिय मिडिया सेन्टर बनाउन प¥यो । जसमा मिडिया सोसाइटी, टीभीएन संघ, साप्ताहिक सञ्जाल, पत्रकार सबै अटाउन पाउन । जसले गर्दा मिडिया इन्डस्ट्री व्यवस्थित हुन पाओस् । सबैले हातेमालो गरेर अगाडि बढ्दा सबैको भलो होस् । हो यही योजनाका साथ अगाडि बढेका निर्मलले गभरमेन्टबाट जग्गा समेत दिलाए । राजनीतिले गर्नेको हात बाँधेको देशमा त्यो राजनैतिक निर्णयले काम गरेन । जग्गा भए पनि भवन बनाउने काम हुन सकेको छैन ।

आफू विज्ञापनकै कारण बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाएका निर्मलले यसमा लाग्न खोज्नेलाई पढेर आउन मात्र सल्लाह दिन्छन् । १५ लाखले पुग्छ एड एजेन्सी खोल्न । ग्ल्यामरस फिल्ड हो एड । पैसा मसँग छँदै छ । मेरो फलानाको कम्पनीहरु छन् । मेरा फलानो मन्त्री र सचिव छन् उनले पनि केही भरथेग गर्छन् भनेर एड एजेन्सीमा आउने हो भने नलागे हुने सल्लाह छ निर्मलको ।

यस फिल्डमा १५–२० करोड कमाउने मान्छे पनि छन् । बंैकभन्दा राम्रो छ गर्नेलाई । क्यासको बिजनेस हैन एड्भरटाइजिङ । क्रेडिटको मार्केट भएकाले आफ्नो ब्याक अप सपोर्ट पनि दह्रै हुन पर्दछ । राम्रो गर्नेले गरेका छन् भने यसैबाट भसक्कै डुबेका मान्छे पनि थुप्रै छन् । त्यसैले नयाँ मान्छे आउँदा सकेसम्म आफ्नो फिल्ड छुटाएर आउनुपर्ने निर्मलको सल्लाह छ ।

घरकी गृहलक्ष्मीले एडमा फाइनान्स कन्ट्रोल गर्न थालेपछि निर्मलको वेलकम फस्टाएको रहेछ । एक छोरा र एक छोरीका बाबु निर्मलले श्रीमतीलाई काम लगाउने पनि संयोग नै जुरेको रहेछ । साथीको धोकाबाट लागेको ३२ लाखको झट्का पछि निर्मलले श्रीमतीलाई फाइनान्स कन्ट्रोलरमा भित्राएका रहेछन् । कामले काम सिकाउँछ । उनको श्रीमती नितु नेपालमै पहिलो वेलकम वेडिङ इभेन्ट खोल्ने पायोनियर पर्सन हुन् ।

भर्खरै हायात होटलमा भव्य २५ वर्षे विवाहको पार्टी गरेका निर्मलले हाई लिभिङ हाई थिङ्किङ आफ्नो मोटो बनाएका छन् । जीवनमा थोत्रो कोट लगाउ नयाँ किताब किन उनलाई मन पर्दैन नयाँ कोट लगाएरै नयाँ किताब पनि किन्नुपर्ने उनको भनाइ छ । जीवनलाई खुम्चाएर हैन फिँजाएर बाँच्न्नुपर्ने उनको भनाइ छ । नसक्दाको कुरा बेग्लै सक्दा पनि जीवनलाई किन खुम्चाएर बाँच्ने ? उनको यो दर्शन मन प¥यो ।

प्रतिक्रिया दिनुहोस्