अपराध नियन्त्रणमा जनसहभागिता बढेको छ



सहकुल थापा
प्रमुख, महानगरीय अपराध महाशाखा

समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरी संगठनले काम गर्दै आएको छ । तर कतिपय घटनामा प्रहरीले समयमा नै अनुसन्धान नगरेको आरोप पनि प्रहरीले खेप्दै आएको छ । राजधानी काठमाडौंमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरीले खेल्दै आएको भूमिका र आगामी दिनमा समाजलाई थप सुरक्षित बनाउन लिएका नीतिको बारेमा महानगरीय अपराध महाशाखाका प्रमुख सहकुलबहादुर थापासँग नेपाल समाचारपत्रको लागि मधुसूदन रायमाझीले गरेको कुराकानीः

उपत्यकाभित्र अहिले कस्ता अपराध बढी हुने गरेका छन् ?
काठमाडौं उपत्यकासँगै देशभर फरक–फरक खालका अपराधका घटना हुने गरेका छन् । देशको राजधानी भएको हिसाबमा पनि काठमाडौंमा विशेष खालका अपराध क्रियाकलाप हुने गरेका छन् । विगतमा गुण्डागर्दी चर्को रुपमा थियो । समाजमा खुलेआम रुपमा नै गुण्डागर्दी हुने गरेको थियो । अहिले उपत्यकाभित्र गुण्डागर्दी पूर्ण रुपमा नियन्त्रणमा छ । अहिले सामाजिक अपराध र आर्थिक अपराधको मात्र बढदै गएको छ ।

समाजमा आर्थिक अपराध पछिल्लो चरणमा बढेको छ । ठगी, हुन्डी, बैकिङ अपराध, लेनदेनजस्ता विषयलाई लिएर पीडितहरु आउने गरेका छन् । आर्थिक अपराध मध्य बैङकिङ अपराध चेक बाउन्सको अपराध बढ्दो छ । यी अपराधलाई निराकरण गर्न प्रहरीले सक्रियतापूर्वक काम गरिरहेको छ । पछिल्लो समयमा साइबर अपराध बढ्दो क्रममा छ । देशभित्र प्रविधि त चाँडो भित्रियो । तर जति भित्रियो त्यसको दुरुपयोग दोब्बर मात्रामा बढ्दै गएको अवस्था छ । साइबल अपराधमा फेसबुक, ट्वीटर, भाइबरमा के गर्न हुने के गर्न नहुने ? कस्तो उमेर समुहले चलाउन मिल्न कुन समुहले चलाउन नमिल्ने भन्ने विषयको कुनै मापदण्ड निर्धारण गरिएको छैन् ।

परिवारको कुन सदस्यले कस्तो साइट हेरिरहेको छ । त्यो कुराहरु पनि परिवारले खासै वास्था नगर्ने गरेको छ । हरेकको हातहातमा स्मार्ट फोन छ । वाइफाइको सहज पहुँच छ । व्यक्ति आफैलाई पनि साइबर अपराध भनेको के हो ? सोसलसाइट कसरी चलाउनु पर्छ ? भन्ने ज्ञानको अभाव हुँदा साइबर अपराध बढदो क्रममा छ ।

बढ्दो साइबर अपराध नियन्त्रण गर्न प्रहरीले के गरिरहेको छ ?
–साइबर अपराध बढदो क्रममा छ भन्ने विषयमा सरकार गम्भीर छ । सोसल मिडियाबाट हुने अपराध बढदो क्रममा छ । यसलाई मध्यजर गरेर सरकारले साइबर सम्बन्धि कानुन ल्याउने तयारी गरेको छ । त्यो कानुन आएपछि केही हदसम्म साइबर अपराध नियन्त्रण गर्न सहज हुन्छ । यसको सम्बन्धित निकाय धेरै छ । युजर आफै नै बढी जिम्मेवार हुनु पर्ने देखिन्छ । सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार हुँदा साइबर अपराध नियन्त्रण गर्न सकिन्छ ।

अहिले प्रहरीसँग आउने उजुरी हेर्ने हो भने सामान्य रुपमा सम्झाउदा पनि हुने अवस्था छ भने कतिलाई मुद्दा नै चलाएका छौं । कानुन बनिसकेपछि कसरी लागू गर्ने, कसरी कार्यान्वयन गर्ने भन्ने कुराहरु पनि युजरले राम्रोसँग विचार गर्नुपर्छ । हामीले विभिन्न कार्यक्रम मार्फत साइबर अपराधको बारेमा जनचेतना लगाउने काम गरेका छौं ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत साइबर अपराध नियन्त्रण गर्न कस्तो खालको कार्यक्रम सञ्चालन भइरहेको छ ?
समुदाय–प्रहरी साझेदारी कार्यक्रम निकै प्रभावकारी रुपमा अगाडि बढेको छ । यस कार्यक्रमले साइबर अपराध नियन्त्रण गर्न ठूलो भूमिका निर्वाह गर्न सफल भएको छ । छोटो समयमा नै यो कार्यक्रम लोकप्रिय बनेको छ । विशेषगरी पछिल्लो समयमा बढदो साइबर अपराधलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा समुदाय नै जागरुप भएको देखिन्छ । सबै पक्षले सुजबुझको साथ प्रयोग गर्न पनि हामीले विशेष आग्रह गरेका छौं ।

नेपाल प्रहरीले विभिन्न कालखण्डमा समाजमा हुने विभिन्न अपराध न्युनिकरण गर्न अभियान सञ्चालन गरेको थियो । प्रहरी मेरो साथी, टोलटोलमा प्रहरी, मुस्कान सहितको प्रहरी सेवा लगायतका कार्यक्रम ल्याएको थियो । प्रहरी र जनताको बीचमा सुमधुर सम्बन्ध हुनुपर्छ । जबसम्म जनता र प्रहरीकोबीचमा सुमधुर सम्बन्ध हुँदैन । तबसम्म कुनै पनि हालतमा अपराध नियन्त्रण गर्न र अपराधको अनुसन्धान गर्न सफलता प्राप्त गर्न सकिदैन भन्ने विश्वास छ । कसरी जनताको बीचमा पुगेर समस्या बुझन सकिन्छ भन्ने मुख्य उदेश्यको साथ यो कार्यक्रम आएका हो ।

हिजो जति पनि कार्यक्रम आए ती आफ्नो ठाउँमा त राम्रो थियो नै । तर त्यसलाई संस्थागत रुपमा विकास गरेर लैजाने विषयमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई राज्यले अपनत्व ग्रहण गरेको छ । राज्यको सबै तहसम्म समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन हुनुको साथ दिगो संरचना समेत बनेको छ । यो कार्यक्रमले गाउँगाउँमा मात्र होइन, टोलटोलमा पुगेको छ ।

जसको कारण समाजमा कस्तो खालका अपराध छन्, त्यसको पहिचान कसरी गर्न सकिन्छ भन्ने विषयमा सहजता ल्याएको छ । स्थानीय नागरिक, विद्यार्थी, जनप्रतिनिधिहरु सबैले अहिले अपराध नियन्त्रण गर्न सहयोग गर्नुको साथै आपराधिक घटनाको अनुसन्धान गर्न भूमिका निर्वाह गरेका छन् । यो कार्यक्रम लागू भएपछि साना भन्दा साना अपराध पनि प्रहरी समक्ष आइपुग्ने वातावरण बनेको छ ।

प्रहरीले अनुसन्धानको काम अगाडि बढाउने क्रममा आइ पर्ने बाधा फुकाउनको लागि समुदायको सक्रियता देखिएको छ । यो कार्यक्रमले विकास निर्माणमा हुने अवरोध पनि सहजै हटेको छ । समृद्धि विकास र शान्ति सुरक्षा एकै साथ अगाडि बढाउन यो कार्यक्रम फलदायी भएको छ । कार्यक्रम सञ्चालन भएपछि समाजमा हुने अपराध घटदो क्रममा छ । हामी प्रहरी एक्लैले केही गर्न सक्ने अवस्था हुँदैन । नागकिरहरुमा निकै ठूलो उत्साह यो कार्यक्रमले ल्याएको छ ।

नेपालमा फेसबुक चलाउनेको संख्या कति छ ?
–यसको एकिन तथ्याङ हामीसँग छैन् । सञ्चार मन्त्रालय, नेपाल टेलिकमसँग होला । यसको रेकर्ड राख्न सकिने अवस्था हुन्छ । फेसबुकको मुख्य कार्यालयबाट प्रवाह भएको सेवा हामीले प्रयोग गरिरहेका छौं । फेसबुकको मुख्य कार्यालयमा हामीले तथ्याङक माग्ने हो भने पाउन सक्ने अवस्था भने छ । साइबर अपराध सम्बन्धि मुद्दा अगाडि बढाउने क्रममा हामीले फेसबुकको कार्यालयमा रिपोर्ट गरेर अनुरोध गर्ने गरेको छौ । जुन रिपोर्टको आधारमा ती मुद्दा सम्बोधन पनि हुने गरेको छ ।

–संगठनलाई कुनै पनि आँच आउने काम गर्न दिदैनौ
–समाजमा आर्थिक अपराध पछिल्लो चरणमा बढेको छ
–समाजमा हुने अपराध घटदो क्रममा छ
–गुन्डागर्दी पूर्ण रुपमा नियन्त्रणमा छ
–गलत काम गर्ने प्रहरी संगठनभित्र रहनु हुँदैन

विगतमा खुल्मखुल्ला गुन्डागर्दी थियो । अहिले समाजमा हुने अपराधको रुप परिवर्तन भयो भन्छन नि ?
—विगतमा गुन्डा भनेपछि यसले अपठ्यारो पर्छ भन्ने त्रासको वातावरण अहिले छैन् । नाम सुनेका गुन्डाहरु कोही छैनन् । भएको गुन्डाहरु जेलमा छन् । यसको आसेपासे देश छोडेर भागेका छन् । संगठित रुपमा छैन् । विगतमा फलानो गुन्डाको पहिचान सहित समाजमा त्रास फैलाएर हप्ता असुल्ने काम हुन्थ्यो । अहिले त्यो पूर्ण रुपमा हटेको छ ।

उपत्यकाभित्र दिउसै चोरी हुने र हिडदाहिडदै सिक्री लगायतका वस्तु लुटिने क्रम बढेको गुनासो छ नि ?
–चोरी पूर्ण रुपमा नियन्त्रणमा छ भनेर भन्न सकिने अवस्था छैन् । यो राजधानी हो । यहाँ देशभरको मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रका मानिसहरुको पनि बसोबास छ । यो व्यस्त शहर पनि हो । घना शहर पनि छ । सबै विचार बोकेका मानिसहरु आएका छन् । काठमाडौंमा बस्ने प्रायः सबै कामकाजी मानिसहरु छन् । दिउसोको हकमा कामकाजी मानिसहरु काममा गएको बेला त्यो मौका छोपेर चोरी हुने अवस्था छ । त्यस्ता चोरीमा संलग्न हुनेहरुलाई दिनानु दिन पक्राउ गरेका छौं । दैनिक रुपमा सात÷आठ वटा चोरीमा संलग्न भएका व्यक्तिहरुलाई पक्राउ गर्ने गरेका छौं । सुन पसल चोरी हुने क्रम रोकिएको छ । सिक्री चोरी गर्नेलाई पनि नियन्त्रणमा लिने काममा प्रहरी खटिएको छ । हामीले प्रविधिको प्रयोग गरेर अनुसन्धान गरिरहेका छौं ।

प्रहरीलाई अनुसन्धान गर्न स्रोत र साधनको अभाव कतिको छ ?
–राज्यको क्षमता अनुसार गर्ने हो । जे जति स्रोत र साधनको उपलब्धता छ, त्यसलाई अधिकतम प्रयोग गरेर काम गरिरहेका छौं । राज्यले सुरक्षासँग जोडिएको निकायलाई विशेष ढंगले नै हेरेको छ । हाम्रो माग अनुसार राज्यले उपलब्ध गराएको छ ।

हामीसँग भएका प्रविधिहरुलाई अधिकतम प्रयोग गरेर परिणाम दिएका छौं । तर कतिपय अवस्थामा प्रविधि हाम्रो हातभित्र नहुने अवस्था पनि छ । कनुै पनि अपराध हुन्छ, त्यहाँ प्रविधिको प्रयोग गर्नुपर्छ । मोबाइलको टयाकिङ गर्ने कल डिटेल हेर्ने काम प्रहरीको हातमा छैन् । त्यो सेवा प्रदाय निकायहरुसँग हामीले आग्रह गर्नुपर्ने हुन्छ । अन्य सेवा प्रदायक निकायहरुले समयमा नै सहयोग गरेन भने हामीसँग भएको क्षमता र कौशलता पनि काम गर्न सकिदैन ।

प्रहरी नै अपराधिक गिरोहसँग मिल्ने गरेको विषय पनि बेला बखत आउने गरेको छ, उनीहरुलाई चाँही कस्तो कारवाही हुने गरेको छ ?
–कुनै पनि संगठन आफै बदनाम हुने विषय होइन । संगठन आफै बदनाम हुँदैन । सबै संगठनको उदेश्य राम्रो गरौ भन्ने हुन्छ । संगठन आफैमा राम्रो हुन्छ । ७६ हजार कर्मचारी भएको प्रहरी संगठनाभित्र सबै एकै खालका व्यक्तिहरु छन भन्ने छैन् ।

कतिपय खराब प्रवृत्ति भएका, कसैको सोच खराब भएका पनि हुन सक्छन् । तर एउटा प्रहरी कर्मचारीले कही कतै कुनै बेला कुनै गल्ती कमिकजोरी ग¥यो भन्दैमा सिंगो प्रहरी संगठन नै खराब हो भन्न मिल्दैन । जहाँसम्म प्रहरी संगठनभित्र कार्यरत कर्मचारीले जानेर वा नजानेर गल्ती गर्छ भने गल्तीको डिग्री अनुसार त्यसलाई संगठनले कारवाही गर्छ । अपराधीसँग मिल्ने चाँहे त्यो तल्लो तहको कर्मचारी होस वा माथिल्लो तहको प्रहरी कर्मचारी होस संगठनले त्यस्ता व्यक्तिहरुलाई क्षमा दिदैन ।

दिएको पनि छैन र दिन पनि हुँदैन । मैले पनि गल्ती गरे भने सजायको भागीदार हुनुपर्छ । विशुद्ध सेवामूलक काम गरेका हामी प्रहरीहरुले सेवा दिनको साट्टो गलत प्रवृत्ति भएकाहरुसँग साठगाठ गर्ने, गलत व्यवहार गर्ने, जनतालाई शोषण गर्ने खालका प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पु¥याउछ भने त्यो व्यक्ति संगठनमा रहनु हुँदैन । अहिले संगठन प्रहरी प्रमुख अगाडि सार्नुभएको नीति निर्देशन, अभियान र स्प्रिटको कारण संगठन झन अनुशाति बन्दै गएको छ ।

संगठनलाई बदनाम गर्ने, अपराधीसँग साँठगाठ गर्नेलाई हदैसम्म कारवाही गरेर निलम्बन समेत गरेको छ । कानुनी हिसाबमा कठोरता पनि लिइएको छ । सेवा दिने विषयमा संगठनको शान बढाउनेलाई पुरस्कृत गर्ने काम पनि भएको छ । हामीले अहिले उच्च मनोबलको साथ काम गरेका छौं । आगामी दिनमा संगठनलाई कुनै पनि आँच आउने काम गर्न दिदैनौ ।

प्रतिक्रिया दिनुहोस्