दुई तिहाइले सार्नसक्ने भएपछि प्रादेशिक राजधानी जहिले पनि अस्थायी



ध्रुवप्रसाद चौलागाईं
अधिवक्ता, सामाजिक अभियन्ता
दुई वर्षदेखि मकवानपुरका सबै राजनीतिक पार्टीका जिल्ला तहका नेता र मकवानपुरका अग्रणी संघसंस्थाहरुसमेत मिलेर ३ नम्बर प्रदेशको राजधानी हेटौंडा नै हुनुपर्छ भनिरहेका छन्, तर आजसम्म पनि यस विषयको स्थायी निदान हुनसकेको छैन ।

यही अभियानको अग्रणी जनसरोकार केन्द्र मकवानपुरका संयोजक, पुनरावेदन बार हेटौंडाका दुई पटक अध्यक्ष भइसक्नुभएका सामाजिक अभियन्ता अधिवक्ता ध्रुवप्रसाद चौलागाईंसँग तीन नम्बर प्रदेशको स्थायी राजधानीका सम्बन्धमा नेपाल समाचारपत्रकर्मी रोशन पराजुलीले गरेको कुराकानीः

तीन नम्बर प्रदेशको अस्थायी राजधानीको अन्यौलता कहिलेसम्म रहन्छ ?
हामीले पहिले प्रष्ट हुनुपर्ने कुरा के छ भने नेपालको संविधानको धारा २८८ (२) बमोजिम प्रदेश नम्बर ३ को राजधानीका सम्बन्धमा प्रदेशसभाको दुई तिहाइले जहिले सुकै निर्णय गर्नसक्ने व्यबस्था छ । र, दुई तिहाइले देशको संविधान पनि बदल्न सक्छ भने जुन ठाउँमा राजधानी भए पनि सधैं अस्थायी नै रहन्छ भन्ने मान्नुपर्छ ।

दुई तिहाइले सार्ने भनी संविधानमा व्यबस्था हुनु भनेको पहिले तोकिएको ठाउँमा नै राजधानी कायम रहन्छ भन्ने संविधान निर्माताहरुको मनसाय भएकोले हेटौंडामा रहेको राजधानी स्थायी नै हो । यसलाई अनुमोदनसम्म प्रदेशसभाले गर्ने हो भन्ने मेरो अनुरोध हो । राजधानीको विषय चलाएर अन्यौलता सिर्जना गर्नु भन्दा यस विषयलाई टुगो लगाएर विकास निर्माणमा लाग्दा नै सबैको हित हुन्छ भन्ने यथार्थता पनि हो ।

अर्काे कुरा, हेटौंडा राजधानी हुने कुरामा नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका नेता, विपक्षी दलका संसदीय दलका नेता, राप्रपाहरु लगायत पार्टीहरुले पनि हेटांैडाबाट राजधानी सर्दैन भनी सार्वजनिकरुपमा नै घोषणा गरिरहनु भएकोले सकेसम्म बाँकी रहेका दुई, चार जना सांसद्लाई पनि किन सहमत बनाउने वातावरण सिर्जना गर्न राजधानीजस्तो विषयमा सर्वसम्मत् होस भन्ने कारण केही समय ढिला भएको भन्ने मैले बुझेको छु ।

हेटौंडा अपायक छ । आउँदाजाँदा ज्यानै जाने खतरा छ । त्यसैले राजधानी बीचमा पर्ने गरी अन्यत्र सार्नुपर्दछ भन्ने सांसद्हरु र अन्य जिल्लाबासीको कुरा छ भनिन्छ त ?
राजधानी घोषणा हँुदा सबभन्दा कम विवादित तीन नम्बर प्रदेशकै हो भन्ने कुरा हामीले सम्झनु आवश्यक छ । अर्काेतर्फ, हाम्रो देश अत्यन्त सानो छ । यति सानो देशमा कति किमीलाई टाढा भन्ने पहिले प्रष्ट हुनुपर्दछ ।

तपाईं मान्नुस् कि काभ्रे राजधानी बनाउने हो भने काठमाडांैबाट काभ्रे ३० किमी, हेटौडा ८५ किमी । फरक ५५ किमी न हो । बाटो राम्रो बनाऔं भनेर शुरुदेखि लागेको भए बाटो पनि बनिसक्थ्यो । यतातर्फ कसैको ध्यान गएन । टाढा भन्ने गरिएको छ । सुरुङमार्ग बन्दैछ । फाष्टट्रयाक बन्दैछ, फाष्टट्रयाक बनेपछि काठमाडांैबाट हेटौंडा ६० किमीजति हुन्छ । काभ्रेभन्दा जम्मा ३० किमीमात्र टाढा ।

त्यसैले के ३०–४० किमी पनि टाढा हो ? यो देशमा अब विकास हँुदैन र ? यदि विकास हुन्छ भने ३०–४० किमी भनेको आधा घण्टामात्र हैन र ? त्यसैले यो टाढा भन्ने कुराको अर्थ छैन । बाटो बन्दैछ, केही समयमा पूरा भएपछि सहज हुन्छ । बीच सेन्टरमा राजधानी पार्ने हो भने त काठमाडौं, ललितपुुरमा नै राखे भो नि । किन काभ्रेमा राजधानी राखेर तीनकुने, कोटेश्वर, सूर्यविनायकमा वर्षैपिच्छे डुबानमा पर्ने । बनेपालाई समेत झनै डुबानमा किन पार्नु ? किन यी ठाउँलाई अस्तव्यस्त बनाउनु ?

अहिले हामीले भनेको राजधानी हेटांैडा बनाउने भन्दा पनि काठमाडौं उपत्यकाको अस्तव्यस्ततालाई कम गर्न हेटौंडा नै पहिलो स्थान हो । काभ्रेमा हाल पनि काठमाडौंबाट गएर कर्मचारीले जागिर खान्छन् । काभ्रेलाई राजधानी बनाएर सबै काठमाडौंमा नै बस्ने हैनन् नि । सबै चाप काठमाडौंलाई नै पर्नुका साथै माइतीघर, तीनकुने, कोटेश्वर र सूर्यविनायकलगायत अरनिको राजमार्ग र बनेपा पनि अस्तव्यस्त हुन्छ है ।

त्यसैले हेटांैडा ३०, ४० किमीको फरक भएकोले काठमाडौंका धेरै कुरा हेटौंडा सार्न सकिन्छ र काठमाडौंलाई राम्रो बनाउनुपर्दछ । योमात्र उपाय हो भन्ने नै हाम्रो प्रमुख मुद्धा हो । यो कुरा हामीले हचुवाको भरमा भनेका छैनौं । विज्ञहरुको टोली बनाएर यथार्थ छानबिन गरे पनि हुन्छ । जहाँसम्म ज्यानै जोखिममा पर्ने कुरा छ यो देशका जनताहरु कस्तो बाटो हिँडीरहेछन् भन्ने बुझेर नीति निर्माणको तहमा रहेका जिम्मेवार नेताज्यूहरुले बुझेर बाटो बनाउन लाग्नुपर्छ नि । बाटो सहज भइहाल्छ ।

हेटौंडा राजधानी हुनका लागि सभास्थल छैन । हेर्टाैडा बजार अस्तव्यस्त छ भन्ने सम्बन्धमा के भन्नुहुन्छ ?
बजार अस्तव्यस्त भन्ने कुरामा यो समग्र देशकै समस्या हो । सर्वाेच्च अदालतले मुआब्जा दिएर मात्र बाटो बनाउनुपर्छ भन्ने सिद्धान्त नै प्रतिपादन गरिसकेको र अब बाँकी सबै मुद्दाहरुमा पनि यही नजिरबमोजिम नै हुने भएकोले हेटौंडा बजार क्षेत्रमा पर्ने घर, जग्गाधनीसँग राज्यले कुरा गरेर उचित मुआब्जा निर्धारण गरी आजैदेखि बाटो बढाउनेतर्फ लागेमा बजारको समस्या एक, दुई महिनामै हल हुन्छ ।

अर्काेतर्फ, हेटौंडामा नभएको सभास्थल हो । प्रदेश राजधानीको पूर्वाधारका लागि छुट्याइएको बजेट खर्च गरेको भए हालसम्म वासुदेव सभागृहमा सभास्थल पनि बनिसक्थ्यो । काम नगर्ने तर समस्यामात्र देखाउने कुराले अप्ठेरो देखिएको हो । अब यी झिनामसिना समस्या केही समयमा नै समाधान हुने पक्का छ ।

हेटांैडा नै राजधानी हुनुपर्दछ भन्ने मुख्य आधार चाहीं के छन् त ?
हेटौंडा, प्रदेश राजधानी हुनका लागि खानेपानी, ढलनिकास, सडकसञ्जाल, राष्ट्रिय र अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको, प्रशस्त भौतिक पूर्वाधार, राजधानीका लागि चाहिने १ प्रतिशत भिरालो जग्गा, अधिग्रहण नै गर्नु नपर्ने हजारौं बिघा सार्वजनिक जग्गाका साथै मुख्य बजार हाल प्रदेश संसद् भवन भएको स्थानमा नै ४ सय रोपनीभन्दा बढी खाली जग्गा एउटै कम्पाउण्डमा रहेको छ ।

जलवायु स्वच्छ र राम्रो वातावरण भएको स्थान, छिमेकी देश भारतबाट सीमा क्षेत्रहरुमा हुने गरेका गलत क्रियाकलापविरुद्ध निगरानी गर्न सकिने उपयुक्त स्थान, केन्द्रको राजधानीलाई सुरक्षित बनाउन पहिलो घेराका रुपमा रहने उपयुक्त स्थान, सबै प्रदेशलाई समन्वय गर्न र चाँडो भन्दा चाँडो सबैखाले पहँुचहरु उपलब्ध गराउन सकिने स्थान, केन्द्रीय राजधानीमा सबै कुरा उपलब्ध गराउने लाइफलाइन रहेको र बीरगञ्जलाई सहज बनाउनसक्ने स्थान हेटांैडा नै भएकोले हेटांैडा प्रदेश राजधानीका लागि उपयुक्त छ भन्ने हाम्रो भनाइ हो ।

यति धेरै कुराहरु हेटौंडामा हँुदाहँुदै सांसद्हरु किन हेटौंडा प्रदेश राजधानी हुनुपर्दछ भन्ने कुरामा सहमत हुन गाह्रो परिरहेछ त ?
प्रदेश नम्बर ३ मा काठमाडौं, ललितपुर, भक्तपुर तीन जिल्लाका ५० सांसद् हुनुहुन्छ । झण्डै ८० भन्दा बढी सांसद्हरुको घर काठमाडौंमा छ । सबैको परिवार काठमाडौंमा नै छन् ।

बालबच्चाको पढाइ काठमाडौंमा नै छ । सांसद् हुनुभन्दा पहिलेदेखिको बन्द–ब्यापारको सम्पर्क काठमाडौंमा छ । चाडपर्वमा उठबस, विहानको चिया गफदेखि राति सुत्ने बेलासम्मका सबै गतिविधि काठमाडौंमा नै वर्षाैंदेखि भइरहेको छ । सबै पार्टीका केन्द्रीय कार्यालयहरु काठमाडांैमा नै छन् ।

केन्द्रीय नेताहरु काठमाडौंमा नै बस्नुहुन्छ । पहिलैदेखि सबै कुरा काठमाडौंमा रहेको र हामी सबैमा रहेको केन्द्रिकृत मानसिकताले गर्दा पनि तपाईं हामीलाई सबै कुरा ठीक भए पनि नजिकै रहेको स्थान भन्दा पनि १ सय किमी टाढाको काठमाडांै नजिक लागिरहेको छ । सबै सेवासुबिधा काठमाडौंमा नै छ । त्यसैले हामीलाई काठमाडांै र आसपास नै चाहिएको हो । यो समस्या तपाईं, म सबैमा छ ।

अन्त्यमा केही भन्नु छ कि ?
सवारी जाममा परेर एम्बुलेन्समा बिरामीको मृत्यु भइरहेको देशको राजधानी काठमाडौंलाई थोरै भए पनि राहत दिन, उपत्यकाको धुलो, धँुवा र प्रदूषण नियन्त्रण गर्न थोरै भए पनि सहयोग गर्न, हेटौंडालाई काठमाडौंको बैकल्पिक शहरका रुपमा विकास गर्न, केन्द्रिकृत अधिकार विकेन्द्रित भयो भनेर प्रमाणित गर्न, अर्बांै लगानी गरेर तयार भएका हेटौंडाका भौतिक पूर्वाधारलाई उपयोगहीन बन्न नदिन, काठमाडौं उपत्यकाका सबै खाले चाप न्यूनीकरण गरी उपत्यकामा स्वास फेर्न सजिलो बनाउन सहयोग गर्न तीन नम्बर प्रदेशको राजधानी हेटौंडाका सम्बन्धमा रहेको अन्यौलता समाप्त गरी हेटौंडालाई अनुमोदन गर्न हार्दिक अनुरोध गर्दछु । धन्यबाद ।

प्रतिक्रिया दिनुहोस्