छुवाछुत र भ्रष्टाचार मुक्त नगरको परिकल्पना गरेको छु



नगरप्रमुख सुरेश अधिकारी

सल्यानको शारदा नगरपालिकालाई आफ्नो कार्यकाल सम्म भ्रष्टाचारमुक्त नगरपालिका गराएरै छाडने प्रण गर्नु भएको छ नगरप्रमुख सुरेश अधिकारीले । समृद्ध नगर, सुखी नगर, उज्यालो नगर, सबैको प्रकारको हिंसामुक्त नगरपालिका बनाउने अभियानमा लाग्नु भएको छ नगर प्रमुख अधिकारी । यही शेरोफेरोमा रहेर समाचारपत्रकर्मी सरिता चलाउनेले गरेको कुराकानी

–निर्वाचनका बेला गरेका प्रतिबद्धता अनुरुपको काम भएका छन त यी दुई बर्षमा ?
निर्वाचनको बेला जनताका बीचमा मैले गरेका प्रतिबद्धता ५० प्रतिशत भन्दा बढी पुरा भैसकेका छन । अब ३ बर्ष बाकी छन । अवको तीन बर्षमा सबै प्रतिबद्धता पुरा हुन्छन । निर्वाचित भैसकेपछि पहिलो कुरा नगरपालिकाको भवन निर्माण गरेर आफ्नै भवनबाट सेवा संचालन गरेका छौ । २ वटा वडा कार्यलयको भवन निर्माण गरेका छौ,। ५ करोड ८० लाख बराबरको मोटरेवल पुल निर्माणमा जोड दिएका छौ ।

सबै भन्दा बढी खानेपानीको समस्या भएको ठाउँमा खानेपानी पु¥याएका छौ । शारदा नगरपालीकाको ८ नम्बर वडाको सिउरेमा खानेपानीको समस्या थियो, म भोट माग्न जादा खानेपानी मागेको बेला दही, दुध दिनुहुन्थ्यो तर खानेपानी पाउन गाह्रो हुन्थो । सबै भन्दा पहिला खानेपानीको व्यवस्था गर्न सफल भएका छौ । नगरपालिका भित्र बनेका बाटोहरु सुधार गर्ने, पार्क निर्माण गर्ने काम गरेका छौ । खलंगा बसपार्कलाई व्यवस्थित बनाएका छौ । सबै वडामा बाटो पु¥याउछौ भनेका थियौ अहिले त्यो काम लगभग पुरा भएको छ ।

बिद्युत नपुगेको ठाउँहरुमा बिद्युत पुगेको छ । मठ मन्दिरमा पनि २४ सै घण्टा बत्तीको ब्यवस्था गरेका छौं । जेष्ठ नागरिकहरुलाई चाडपर्ब खर्च प्रदान गरेका छौ । लक्षित बर्गहरुका लागि बिभिन्न तालीम, सचेतनामुलक कार्यक्रम संचालन गरेका छौ । पाँच बर्ष भित्रमा नगरपालिकालाई समृद्ध नगरपालिका बनाएर छाड्ने छौ ।

–शिक्षा र स्वास्थ क्षेत्रलाई ब्यवस्थित बनाउने योजना कहां पुगे ?
हामीले यहांको शिक्षा र स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने प्रण गरेका थियौं । हिजोको अबस्थामा वालवालिका बिद्यालयमा भर्ना हुने र बीचमा छोडने अवस्था थियो। त्यो अहिले त्यसमा सुधार आएको छ । शिक्षक अभाव भएको ठाउँमा नगर शिक्षकको व्यवस्था गरेका छौ । नपढाउने शिक्षकलाई कारवाही समेत गरेका छौ । बिद्यालयका जीर्ण भएका भवनहरुलाई सुधार गरेको छौ ।वालवालिका बिद्यालय पुगे–नपुगेको थाहा पाउनकालागि अनुगमन समेत तीव्र बनाएका छौ । नगरभित्रका शिक्षकलाई तालिमको व्यवस्था गरेका छौ ।

यस्तै स्वास्थ्य क्षेत्रमा पनि सुधार गरेका छौ । नगरपालिका भित्र रहेका सबै वडामा हेल्थपोष्ट, शहरी स्वास्थ्य क्लिनीक खोलिएको छ । जिल्ला अस्पतालमा फोहरको थुप्रो हुने गथ्र्याे, त्यो हटेको छ । कर्मचारी र स्वास्थ्यकर्मीको व्यवस्था गरेको छौ। बिरामीहरु आएपछि उपचार गर्ने समस्या थियो अहिले त्यो समस्या समाधान हुदै गएको छ । नगरपालिकाले आफै औषधी किनेर बितरण गर्ने व्यवस्था गरेको छ । १५ सैयाको अस्पताललाई ५० सैयाको बनाइएको छ । ४ करोडको लागतमा अस्पताल भवन निर्माण भइरहेको छ । जिल्ला अस्पताल सम्म आउने दुरी टाढा भएका ६ ठाउँमा शहरी स्वास्थ्य क्लीनिक स्थापना भएर सेवा शुरु गरिएको छ ।

भ्रष्टाचारलाई अन्त्य गर्ने घोषणा गर्नु भएको थियो तपाईको अभियान अहिले कता पुग्यो ?
हो मैले चुनावको बेलामा घोषणपत्र जारी गर्दा पनि भ्रष्टाचारमुक्त नगर बनाउछौ भनेको थिए । यसैलाई आधार मानेर मैले प्रतिबद्धता गरेको भ्रष्टाचार बिरोधी अभियान संचालन गरेको छु । हिजोका दिनमा नापी कार्यलय, मालपोत कार्यलयमा पैसा नदिदा सम्म काम हुदैन, पैसाको चलखेल हुन्छ भन्ने जनगुनासो आउने गथ्र्यो।

म जनप्रतिनिधी भएर आई सकेपछि नापी कार्यलयको एक जना कर्मचारीलाई घुस सहित पक्राउ गर्न सफल भएका छौ । त्यसैगरी शिक्षाको ईकाई प्रमुखलाई पनि घुस सहित पक्राउ गरेका छौ । अहिले जनताको प्रत्यक्ष सरोकार राख्ने सरकारी अड्डामा धेरै सुधार आएको छ । यो अभियानलाई मेरो कार्यकालको अन्त्य सम्म पनि कायम राख्ने छु ।

– नगरपालिकाको बिकासकालागि कसरी काम गरिरहनु भएको छ ?
हामी जनप्रतिनिधि भएर आईसकेपछि सबैको सल्लाह अनुसार काम अगाडि बढाएका छौ । राजनीतिक दल, जनप्रतिनिधिको बैठक बसेर यस्तो काम गर्दा ठिक हुन्छ भनेर एउटै धारणा बनाएर अगाडी बढिरहेका छौ । हामी एउटा खालको कामले मात्र नगर बिकास हुन्छ भन्ने पक्षमा छैनौ । बाटो, पुल, खानेपानी, पूर्बाधारको बिकासले मात्र नगरको बिकास हुन्छ भन्ने छैन, समग्रमा सबै प्रकारका बिकासहरु भए भने मात्रै नगरपालिका समृद्ध र बिकसित हुन्छ भन्ने उदेश्यका साथ, पूर्बाधार, मानवीय बिकासलाई एक साथ अगाडि बढाएका छौ ।

यहांको ठुलो समस्याको रुपमा रहेको छुवाछुतलाई अन्त्य गर्न लागि परेका छौ । कुनै पनि विभेद हुन नदिनकालागि दलित र गैरदलित बीच सहभोज समेत गरेर सबै सँगै बसेर सहभोज खाएका छौ । दलितको मलामी र बिहे भोजमा समेत अरु काम छोडेर पनि पुग्ने गरेका छौ । जसले जातीय विभेद गर्छ त्यसलाई कारवाही गर्ने पक्षमा छौ । दलित, जनजाति, पिछिडिएका बर्गलाई समेटेर विभिन्न कार्यक्रमहरु संचालन गरिएको छ ।

–महिला हिंसाका घटनाहरु बढिरहेका छन ? हिंसाका घटना हुन नदिन नगरपालिले कस्ता कार्यक्रम ल्याएको छ ?
शारदा नगरपालीकाले अहिले मात्र हैन दुईबर्ष अगाडी देखिनै महिलाको हक हितका लागि ठुलो रकम बिनियोजन गर्दै आईरहेको छ । महिला सचेतनाका कार्यक्रमहरु संचालन गरिएको छ । लैङ्गिक हिंसा बिरुद्धका कार्यक्रम संचालन भएका छन । प्रत्येक टोल वडामा हामीहरु आफै पुगेर कार्यक्रम संचालन गरेका छौ । गैरसरकारी सस्थालाई पनि यस्ता कार्यक्रम दिएर महिलालाई जागरुक बनाउन आग्रह गरेका छौ । महिला माथि कुनै पनि हिंसा हुन दिनकालागि सचेतनाका कार्यक्रमहरुमा जोड दिएका छौ ।

जनप्रतिनिधी भएर काम गरिरहदा अनुभव कस्तो अनुभव गर्नु भएको छ ? नीतिगत र व्यवहारीक कठिनाई केही आइपरेका छन ?
यो दुई बर्षमा पहिलो बर्ष त समस्या धेरै आएका थिए । कानुनहरु निर्माण गर्नुपर्ने, कर्मचारीको अभाव थियो । कर्मचारीहरुको व्यवहार फरक थियो । अहिले कानुन निर्माण गरेर अगाडि बढ्दै जादा र काम गदै जादा अहिले त्यस्तो अप्ठेरो महुसुस भएको छैन । अहिले कर्मचारी, पुलिस प्रशासन सबैले सहयोग गर्नुभएको छ । हामी पनि यहांको बिकासकालागि मरिमेटेर लागेका छौ । कर्मचारीले पनि आफ्नो भुमिका राम्रोसंग निभाउनु भएको छ । हामी सबै अहोरात्र खटिएर नगर भित्रको बिकासमा लागि परेका छौ ।

तपाईले कृषि क्षेत्रको बिकासकालागि कुनै गुरु योजना बनाउनु भएको छ ?
हामीले यस नगरपालिको १५ वटा वडामा कुन वडामा के छ भनेर पकेट क्षेत्र निर्धारण गरेका छौ । पकेट क्षेत्र अन्र्तग नगरपालिकाले लगानी गरेको छ । कतै बेमौसमी तरकारी छ, कतै फलफुल खेति छन । कतै खसी बोकाको पकेट क्षेत्र बनाएका छौ । कतै कुखुरा पालनको पकेट क्षेत्र छन । कतै धान, मकैको पकेट क्षेत्र छन। यसलाई नै हेरेर हामीले लगानी गरेका छौ । हिजो पाच हजारको तरकारी बेच्ने कृषक दाजुभाईले अहिले पाँच लाखको तरकारी बेन्चे हुनु भएको छ । एक लाखको खसी बोका बेच्ने कृषकहरु अहिले ६० लाख सम्मको ब्यापार गर्न सक्ने हुनु भएको छ ।

अहिलेको नीति तथा कार्यक्रममा केमा जोड दिनुभएको छ?
अहिले भखरै नीति तथा कार्यक्रममा हामीले पुर्बाधार क्षेत्रको बिकासलाई महत्व दिएका छौ । अन्य स्थानीय तह र शारदा नगरपालिकामा फरक छ । अन्यत्र प्रशासनिक खर्च बढी हुन्छ, पूर्बाधार तर्फ कम हुन्छ । तर हाम्रोमा पुर्बाधार, मानविय बिकासलाई जोड दिइएको छ । हाम्रोमा बिकास बजेट बढि,प्रशासनिक बजेट कम छ । त्यसमा पनि पुराना क्रमागत योजनालाई प्राथामिकतामा राखेका छौ, र अन्य योजनालाई पनि जोड दिएका छौ ।

यहांको कार्यकाल सकिदा नगरपालिका कस्तो होला ?
मेरो सोच, बजेट, स्रोतले काम ग¥यो भने मेरो कार्यकालमा नगरपालिका समृद्ध हुन्छ । उज्यालो नगर, सबैको प्रकारको हिंसामुक्त नगरपालिका, विभेद बिहीन नगरपालिका, बाल मैत्री नगरपालिका, मैहिला मैत्री, अपागं मैत्री नगरपालिका हुने छ ।

प्रतिक्रिया दिनुहोस्