चस्मा फेर्न ढिला भो कि ?



म प्रधानमन्त्री हुँदा काठमाडौंमा आधा जनसंख्या मास्क लगाएर हिड्थे, अहिले कसैले लगाउनु पर्दैन’–यो भनाई हाम्रै पीएम ओलीको । राज्यको डाडु पन्यू चलाउने कम्रेड ओलीको यस्तो बोली फुत्किने वित्तिकै धरहरा राम्रैसँग झस्कियो, सपना र विपना छुट्याउनै गाह्रो भो ।

कुरो विपनाकै हो भन्ने ठहर भएपछि धरहराले काठमाडौंभर दुरविन घुमायो तर धुवो धुँवा ज्यूँका त्यूँ देखिन्छ भन्या । ओलीको झन्डावाल गाडीको सिसा उस्तो हो कि उनको चस्माको पावर गडवड भा हो, बुढाले केही दिनअघि एक कार्यक्रममा ठोकेरै भने–काठमाडौं धुलोमुक्त भइसक्यो । कतै ओलीले बुझ्या काठमाडौं खाल्डो र काठमाडौंवासीले बुझ्या काठमाडौं फरक त हैन ?

सल्लाहकारले काठमाडौंको परिभाषा नै अर्कै बुझाई रहेका पो छन् कि ?
काठमाडौंभित्रैका सडकको अवस्था विजोग छ, पानी परेपछि गाडी गुडाउन सास्ती छ, पानी रहने वित्तिकै, घाम लागेपछि धुलो उडेर कुइरीमण्डल हुन्छ भन्ने व्रिफिङ चाहिँ सल्लाहकारले गर्दैनन् की क्या हो ?

कहिले काहिँ पैदलयात्रामा निस्किएर काठमाडौं नियाल्दा काठमाडौंको असली रुप थाहा पाइन्थ्यो कम्रेड । त्यसैले काठमाडौं चिन्न बुझ्न कि चस्मा बदलौ कि सडकयात्रामा निस्कने कस्ट गरौ । कम्रेडलाई प्रष्ट जानकार होस्, बालुवाटार, सिंहदरवार अनि शितलविनासको कम्पाउन्ड र आसपासको सडक मात्रै काठमाडौं होइन ।

प्रतिक्रिया दिनुहोस्