बसपार्क आकर्षक बनाउन गार्डेनसहितको संरचना



रामधन राई, खोटाङ ।
खोटाङको दिक्तेलबजारस्थित आचार्यगाउँको बसपार्कलाई आकर्षक बनाउनका लागि गार्डेन सहितको संरचना निर्माण भईरहेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ मा पर्ने बसपार्कको वरीपरी गार्डेन वाल, मेसिनरी वाल, ढल लगायतका संरचना निर्माणको काम भईरहेको निर्माण उपभोक्ता समितिले जनाएको छ ।

वसपार्कमा १० हजार लिटर क्षमताको पानी ट्याङ्की, कम्पाउण्ड, ढल निकास आदिको कार्यलाई समेत तत्कालै अघि बढाईने निर्माण उपभोक्ता समितिको अध्यक्ष पर्शुराम आचार्यले जनाउनुभयो । उक्त संरचना निर्माणका लागि पहिलो चरणमा प्रदेश सरकार अन्र्तगत शहरी बिकास मन्त्रालयबाट ५० लाख रुपैंयाँ बजेट विनियोजन भएको अध्यक्ष आचार्यको भनाई छ । दिक्तेलबजारबाट बसपार्कसम्म पुग्ने सडकलाई बाह्रैमास सुचारु गराउन हाल ४ मिटर सडकमा सोलिङ गर्ने कार्य समेत भईरहेको छ ।

१७ रोपनी जग्गामा आधारभूत संरचना निर्माण भई ३ बर्ष अघिदेखि सञ्चालनमा आएको बसपार्कलाई नेपालकै आकर्षक बसपार्क बनाउने लक्ष्य बनाईएको स्थानीय गोपालप्रसाद आचार्यले सुनाउनुभयो । दिक्तेलबजारबाट बसपार्कसम्म पुग्ने सडक आसपासका घर तथा सडक किनारमा गमलामा फूल रोप्ने, प्रत्येक घरमा प्लास्टिक पोखरी बनाई तरकारी खेति गराउनेसम्मको योजना बनाईएको आचार्यले बताउनुभयो ।

नगरपालिकासँगको समन्वयमा आगामी बर्षदेखि सडकसँगै बसपार्क कालोपत्रेको कार्यलाई अघि बढाउन पहल भईरहेको बताईएको छ । दिक्तेलबजार नजिकै पर्ने नगरपालिकाको २ नम्बर वडामा पर्ने सोल्मामा समेत अर्को बसपार्क रहेका छन् । तर अपायक भएको भन्दै कतिपय बस ब्यवसायीहरु बसपार्कसम्म बस लैजान आलटाल गर्ने गरेका छन् ।
आचार्य गाउँका स्थानीय भने बसपार्कलाई नियमित सुचारु गराउन स्वस्फुर्त जुटेको सुनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्