आज देशभर भाइटीका मनाइँदै, ११:०७ बजे उत्तम साइत


काठमाडौं ।

नेपालीको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन आज देशभर दाजुभाइ तथा दिदीबहिनीले हर्षोल्लासका साथ भाइटीका पर्व मनाउँदैछन्।

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकालाई यमद्वितीया पनि भनिन्छ। यस अवसरमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीका लगाउन आज बिहान ११ बजेर ७ मिनेटको समय उत्तम साइत रहेको छ। यद्यपि दिनभर टीका लगाउन कुनै बाधा नरहेको समितिले जनाएको छ।

भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर टीका लगाइदिने, मखमली, सयपत्री र गोदावरीका माला पहिर्‍याउने तथा ओखर, कटुस, मसला र सेलरोटीलगायत परिकार दिने चलन छ।

टीका ग्रहण गरेपछि दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो गच्छेअनुसार कपडा, दक्षिणा तथा उपहार दिएर सम्मान प्रकट गर्ने परम्परा रहेको छ। यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ।