चोरी भएको १२ तोला सुन शौचालयबाट बरामद



पर्वत(नेस) ।
जिल्लाको पैयूँ गाउँपालिका ६ उपल्लो हुवासमा रहेको आले होटेलबाट चोरी भएको ११२ तोला सुनसहित चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत वैशाख ३० गते रातीको समयमा होटेलमा छिरेर सुन चोरी गरेका स्थानीय २६ वर्षीय सोमबहादुर राना र ३६ बर्षिय नारायण आलेलाई पक्राउ गरेको हो ।

आले र रानालाई पक्राउ गर्नुका उनीहरुले चोरी गरेको सुन पनि बरामद गरिएको इलाका प्रहरी कार्यालय हुवासका प्रमुख प्रहरी निरीक्षक मित्रबहादुर आचार्यले जानकारी दिनुभयो ।

चोरी भएलगत्तै पीडितले इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि प्रहरीले शङ्कास्पद व्यक्तिहरुको खानतलासी सुरु गरेको थियो। सोही क्रममा निरीक्षक मित्रबहादुर आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले शङ्काको आधारमा रानालाई घरबाटै नियन्त्रणमा लिएको थियो भने आलेलाई लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको थियो ।

सोधपुछका क्रममा उनले चोरी गरेको स्वीकार गर्दै घरको शौचालयमा सुन लुकाएको बताएका थिए। उनकै बयानका आधारमा प्रहरीले शौचालयमा लुकाएर राखेको अवस्थामा ४ तोलाको रानीहार, ४ तोलाकै सुनका बाला २ ओटा, चन्द्रमा र सिक्री बरामद गरेको हो।

चोरीमा संलग्न रानाले गाउँमा नै मिस्त्रीको काम गर्दै आएका थिए। रानालाई पर्वत जिल्ला अदालतबाट म्याद थप गरि काबार्ही प्रकृया अगाडी बढाइएको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्