सञ्चार सामग्री सहित बिधेयक बिरुद्ध बिरोध प्रर्दशन



सिर्जना पन्त, बागलुङ ।

बागलुङका पत्रकारहरुले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक विरुद्ध सञ्चार सामग्री सहित बिरोध प्रर्दशन गरेका छन् । बिहीबार विहान १० बजेबाट ११ बजेसम्म जिल्ला प्रशासन कार्यालय परिसरमा आफ्ना सञ्चार सामाग्री सहित प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी सरकारले संसदमा पेश गरेको विधयेकका प्रेस स्वतन्त्रता बिरोधी बुँदा तत्काल संशोधन गर्न माग गर्दै बिरोध प्रर्दशन गरेका हुन् ।

सञ्चार कर्मका लागि प्रयोग गर्दै आएका कलम, डायरी, क्यामेरा, भ्वाइस रेकर्डर, ल्यापटप लगायतका सञ्चार सामग्री सहित बिरोध प्रदर्शन गरिएको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले बताउँनुभयो । बिरोध प्रदर्शन पछि महासंघका शाखा अध्यक्ष दिल शिरीषले लोकतन्त्रको लागि लडेर आएको पार्टी सम्वद्ध लोकतान्त्रिक सरकारले समाचार लेखेकै आधारमा पत्रकारलाई लाखौं रुपैयाँ जरिवाना तिर्नुपर्ने र जेल जानुपर्ने कानुन बनाउन खोज्नु बिडम्बना भएको बताउँनुभएको थियो ।

उहाँले सरकारले प्रेसलाई नियमन गर्नु अन्यथा नभएको भन्दै अहिले नियन्त्रण नै गर्ने नियत राखेर बिधेयक ल्याइएको बताउँनुभएको थियो शिरीषले पत्रकारितालाई व्यवस्थित, मर्यादित बनाउने नाममा नियतबस आएका बुँदाले प्रेस स्वतन्त्रतामा आक्रमण गर्ने भन्दैं प्रेस स्वतन्त्रता सँगै अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रमा समेत प्रभाव पार्न सक्ने विधयेक संसदबाट पास हुने हो भने पत्रकारलाई मात्र नभएर नागरिक समाज लगायत सम्वद्ध पक्ष लाई पनि गम्भिर असर पर्ने बताउँनुभएको थियो ।

क्रियाशिल महिला पत्रकार समूहका अध्यक्ष तथा महासंघका सल्लाहकार कोपिला कंडेलले प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने गरि ल्याइएको बिधेयक नसच्याए दुर्भाग्य हुने बताउँनुभयो ।

‘काउन्सिलबाट जारी भएको आचार संहिता विपरित कुनै सामाग्री प्रकाशन वा प्रसारण गरेको कारण मर्यादावा प्रतिष्ठामा आँच पुर्याएको भनी सम्बन्धित व्यक्तिले दफा १६ बमोजिम दिएको उजुरी उपर दफा १७ बमोजिम जाँचबुझ गर्दा कसैको मर्यादा वा प्रतिष्ठा आँच पुर्याएको देखिएमा काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक सम्पादक, पत्रकार वा संवाददातालाई पच्चिस हजार रुपैयाँदेखि दश लाख रुपैँयासम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ ।’ विधेयकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्