महिलाको नाममा जग्गा दर्ता गर्ने क्रम बढ्दै



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीमा महिलाको नाममा जग्गा दर्ता गर्ने क्रम बढ्दै गएको छ । आफुसंग भएको जग्गा पुरुषको नाममा मात्रै दर्ता गर्ने चलन हट्दै जग्गाको मालीक महिला पनि बन्दै गएका छन् ।

महिलाको नाममा जग्गादर्ता भए छुट पाइन्छ भन्ने मान्यताले महिलाको नाममा जग्गा दर्ता गर्नेको सख्या बढ्दै गएको मालपोत कार्यालय बैतडीले जनाएको छ । यसले महिलाको पनि सम्पतीमा पहुँच पुग्न थालेको छ ।

वि स २०६७ सालदेखि संयुक्त रुपमा पूर्जा बनाउने अभियान नै शुरु भएयता पछिल्लो समयमा महिलाको नाममा लालपूर्जा बनाउनेको संख्या बढ्दै गएको जिल्ला मालपोत कार्यालयका सूचना अधिकारी अनिलबहादुर चन्दले जानकारी दिनुभयो । महिलाको नाममा जग्गादर्ता २५ प्रतिशत राजस्व छुट हुने भएकाले पनि महिलाको नाममा जमीन दर्ता गर्नेको संख्या बढ्दै गएको हो ।

जिल्ला मालपोत कार्यालय बैतडीका अनुसार आर्थिक २०७३/७४ मा ७९ जना महिलाको नाममा लालपूर्जा बनेको छ भने गत आर्थिक बर्षमा ९२ जना महिलाको नाममा लालपूर्जा बनेको छ । चालु आर्थिक बर्षको अहिले सम्म ६७ जना महिलाको नाममा लालपूर्जा बनेको छ ।

पहिला पहिला महिलाको नाममा लालपूर्जा आनाकानी गर्ने गरिएको भएपनि पछिल्लो समय महिलाको नाममा लालपूर्जा बनाउने क्रम बढेको अधिकारकर्मी सरस्वती नेपालीले बताउनुभयो ।

वि स २०६७ सालमा भूमीअधिकार मञ्च मार्फत संयुक्त लालपूर्जाको अवधारणा अघि सारेर महिलाको नाममा सम्पत्ति दर्ता गराउने काममा सहजीकरण गरेको नेपालीको भनाई रहेको छ । महिलाको नाममा जग्गापास हुनुले महिलाको सम्पत्तिमा पहुँच पुर्याउन सजिलो भएको छ ।

प्रतिक्रिया दिनुहोस्