राप्रपाद्वारा मुख्यमन्त्री कार्यालयमा धर्ना



हेटौंडा,(नेस) ।

हिन्दुराष्ट्र पुनस्र्थापनासहित माग राखेर आन्दोलनरत् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार प्रदेश–३ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाको गेटमा धर्ना दिएको छ । केही दिनदेखि प्रदर्शन र धर्ना कार्यक्रम सञ्चालन गर्दै आएको राप्रपाले मुख्यमन्त्री कार्यालयमा एक घण्टा धर्ना दिएको हो ।

फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको २२ बुँदे माग सम्बोधनका लागि दबाब दिन भन्दै राप्रपाले धर्ना दिएको हो ।

हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि भन्दै राप्रपाले पहिलो चरणको जनसंघर्षको कार्यक्रम सञ्चालन गरिरहेको छ । राप्रपाले नेपाललाई धर्मसापेक्ष हिन्दुराष्ट्र घोषणा गरिनुपर्ने, राजासहितको प्रजातन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्नुपर्ने, संघीयताबारे राष्ट्रिय जनमतसंग्रह गर्नुपर्ने, बेरोजगारी समस्या र बढ्दो महंगी तथा भ्रष्टाचार अन्त्य गर्नुपर्ने मागसहित संघर्षका कार्यक्रम घोषणा गरेको पार्टी जिल्ला अध्यक्ष मधु अधिकारीले बताउनुभयो ।

पहिलेका आन्दोलनहरु त्यति प्रभावशाली बन्न नसकेपछि पछिल्ला दिनमा भने हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि सडकमा नागरिक देखापर्न थालेका छन् । राप्रपाले हिन्दुराष्ट्रकै नारा दिएर आफ्नो शक्ति सुदृढीकरण गर्न थालेको छ । हिन्दुराष्ट्र पुनस्र्थापनासँगै राष्ट्रिय अखण्डता र भ्रष्टाचार नियन्त्रणजस्ता मुद्धा पनि राप्रपाले उठाउन थालेको छ ।

राप्रपाले ८ वैशाखसम्मका लागि पहिलो चरणको संघर्षको कार्यक्रम तय गरेको पार्टी हेटौंडा नगर अध्यक्ष गुरुप्रसाद सापकोटाले बताउनुभयो । जसअन्तर्गत् राप्रपाले संघर्षको कार्यक्रमको मुख्य एजेण्डा बनाइएको हिन्दुधर्म पुनस्र्थापनाको मागलाई लिएर देशभर हस्ताक्षर संकलन अभियान जारी राखेको छ ।

पार्टीका अनुसार आइतबार साँझसम्म देशभरबाट गरी करिब ६० लाखको हाराहारीमा हिन्दुराष्ट्र पुनस्र्थापनाका पक्षमा हस्ताक्षर संकलन भएको छ । राप्रपाले १७ चैतबाट देशभर हस्ताक्षर संकलन अभियान सुरु गरेको थियो । पार्टी अध्यक्ष कमल थापाले हेटौंडाबाट हस्ताक्षर अभियान थाल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्