प्रादेशिक अस्पतालमा प्रविधियुक्त प्रयोगशाला    



लमही, दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रविधियुक्त प्रयोगशाला सञ्चालन हुने भएको छ । प्रविधियुक्त प्रयोगशाला सञ्चालनका लागि आवश्यक सामग्री खरीदकार्य भइरहेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।

“हामीले तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा स्मार्ट ल्याव स्थापना गर्न लागेका छौँ”, उहाँले भन्नुभयो “त्यसका लागि सामग्री खरीद गर्न बोलपत्र आह्वान गरिएको छ ।” करीब रु तीन करोड लागतमा प्रविधिमैत्री प्रयोशाला सञ्चालन हुन लागेको उहाँले बताउनभुयो जसमा सबै काम कम्प्युटर प्रणालीबाट हुने उहाँको भनाइ थियो । “हामीले तुलसीपुरलाई नेपालकै स्वास्थ्य नगरका रुपमा परिचित बनाउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “स्मार्ट ल्याव शुरु हुनेबित्तिकै अमेरिकालगायत ठूला देशमा गरिने ल्याव तुलसीपुुरमै हुन्छ ।”

साथै उहाँले तुलसीपुरमा मोतियाविन्दुको समस्या निराकरण गर्ने योजनाअनुसार अघि बढेको बताउनुभयो । “हामीले मोतियाविन्दुमुक्त तुलसीपुर बनाउन मुख्यमन्त्री, आँखा रोग विशेषज्ञ सन्दुक रुइतको हातबाट कार्यक्रम उद्घाटन ग¥यौँ”, उहाँले भन्नुभयो व।

साथै बिरामीका लागि ‘स्मार्ट हेल्थ कार्ड’ ल्याउने योजना रहेको बताइएको छ । उक्त कार्ड ल्याएपछि जुनकुनै अस्पतालमा बिरामी गएर उपचार गराए पनि त्यसको विगत उपचार तथा रोगको बारेमा जानकारी हुने खालको बिरामी कार्ड ल्याउने योजना बनाइएको छ । विश्व स्वास्थ्य दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाले आयोजना गरेको ‘स्वास्थ्यमा सबैका लागि सर्वव्यापी पहुँच’का लागि ‘स्वास्थ्य प्रवद्र्धनमा मेरो वर्ष, मेरो अभियान’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सो जानरकारी दिनुभएको हो ।
रासस

प्रतिक्रिया दिनुहोस्