अलपत्र चिस्यान केन्द्र निर्माणमा नगरपालिकाको चासो



पाल्पा,

विगत ६ बर्ष अघि देखी निर्माण शुरु भएको चिस्यान केन्द्र (कोल्ड स्टोर) पुरा गराउन तानसेन नगर सरकारले नै सक्रिय रुपमा आवश्यक पहल गर्न थालेको छ ।

छ वर्ष पहिले निर्माण सुरु भएको चिस्यान केन्द्र अहिले सम्म अलपत्र अवस्थामा रहेको छ । भारतीय राजदुतावासको ४ करोड ९९ लाख ९१ हजार ९ सय ५ रुपैयामा आर्थिक सहयोगमा निर्माण शुरु भएको कोल्ड स्टोरको ६ बर्षको अवधीमा ३० प्रतिशत काम मात्र सम्पन्न भएको छ ।

समयमा कोल्ड स्टोर चिस्यान केन्द्र निर्माण पुरा नभएपछि यस क्षेत्रका किसानहरुमा निराशा छाएको छ । पाल्पा, गुल्मी, अर्घाखाची, स्याङ्जा, पर्वत लगायत जिल्लाका किसानहरु लाई लक्षित गरी निर्माण शुरु गरिएको चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माण अलपत्र भएको हो ।

तानसेन नगरपालिका ७ मा निर्माण सुरु गरिएको चिस्यान केन्द्रको समयमा काम सम्पन्न नभएपछि तानसेन नगरपालिकाले पुर्व निधारित रकमको क्षतिपुर्ति ४८ लाख रुपैया रकम तिर्न निर्माण कम्पनीलाई पत्राचार गरेको जनाएको छ । निर्माण कम्पनीले नगरपालिकाको पत्राचार लाई वेवास्ता गरेमा कालोसुचीमा राख्ने गरी कारवाही अगाडी बढाउने तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले बताउनु भयो ।

यस क्षेत्रमा तत्काल बजारमा खपत हुने भन्दा बढि उत्पादन भएका तरकारी, फलफुल, अदुवा, दुध लगायतका कृषि उत्पादन लाई व्यबस्थित रुपमा चिस्यान केन्द्रमा भण्डारण गर्न किसानहरुको माग अनुसार चिस्यान केन्द्र निर्माण शुरु गरिएको थियो ।

३३ फिट उचाई, २६ मिटर लम्बाई र १४ मिटर चौडाइ, २ हजार टन क्षमता रहेको चिस्यान केन्द निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । निर्माण कम्पनीले समयमा काम पुरा नगरेपछी तानसेन नगरपालिकाले ३ पटक म्याद थपिसक्दा समेत ३० प्रतिशत काम मात्र गरेकोले जरिवाना सहितको क्षतिपुर्तिको लागि हालै पत्राचार गरेको छ ।

२०६९ फागुन २३ गते सम्झौता गरेको निर्माण कम्पनीले २०७१ जेष्ठ २३ गते सम्पन्न गर्ने सम्झौता गरेको थियो । काम अनुसारको रकम नपाएको कारण काम रोकिएको निर्माण कम्पनी हिमडुङ्ग एण्ड थोकर र जयरक्तकाली जेबी जनाएकोे छ । तानसेन नगरपालिकाले भने हालसम्म निर्माण कम्पनी लाई भ्याट सहित २ करोड ६ लाख ३० हजार ५ सय रुपैया भुक्तानी गरेको जनाएको छ ।

कोल्ड स्टोरमा राखिएका उत्पादनको बजार बुटवल देखी छिमेकी भारत सम्म निर्यात गर्न सकिने अवस्था रहेकोले कोल्ड स्टोर पुर्णरुपमा संचालन भएमा यस क्षेत्रकै जनताले फाइदा पाउन सक्ने अवस्था देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्