नदी बढेपछि दुई सय घर परिवार विस्थापित   



बग्दाद, इराकको पूर्वी क्षेत्रमा रहेको नदीमा पानीको बहाव बढेपछि त्यस आसपासका बासिन्दालाई अन्यत्र सारिएको छ ।

दियाला नदीमा बाढी आएपछि दुई गाउँका दुई सय घर परिवारलाई शनिबार अन्यत्र सारिएको अधिकारीहरुले जनाएका छन् ।

दियाला प्रदेशको राजधानी बकुवादेखि उत्तरतर्फ पर्ने खार्नाबाट र हुवेडेर गाउँका बासिन्दालाई सारिएको बाकुवाका नगर प्रमुख अब्दुल्लाह अल हैयाल्यले जानकारी दिनुभयो ।

विगत केही दिनदेखि त्यस क्षेत्रमा वर्षा भएर बाढी आइरहेकाले उनीहरुलाई सुरक्षित स्थानमा सारिएको उहाँले बताउनुभयो ।

इरानसँगको सीमा क्षेत्रमा पर्ने इराकको पूर्वी र दक्षिणी क्षेत्रका धेरै ठाउँमा यसको प्रभाव परेको छ । इरानको पश्चिमी क्षेत्रमा पनि अत्यधिक वर्षा र बाढी आएको अधिकारीहरुले जनाएका छन् ।

दियालाको प्रान्तीय परिषद्का सदस्य खुधेर अल ओबैडीले प्रान्तको पाँचवटै बाँध भत्किएको बताउनुभयो । उहाँले धेरै वर्षपछि यस्तो भएको जानकारी दिनुभयो ।

“मान्दाली, क्वाजान्या, हिम्रिन, अल अधैम र अल वान्ड बाँधमा क्षमता भन्दा बढी पानी आएपछि बाँध नाघेर पानी बहेको छ,” अल ओबैडीले भन्नुभयो ।

बाढी नियन्त्रण गर्न र विस्थापितहरुको व्यवस्थापनका लागि इराकका प्रधानमन्त्री अडेल अब्दुल माहदीले आपतकालीन बैठक गर्नुभएको छ ।
रासस-सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्