झापामा रात्रीकालिन फुटबल प्रतियोगिता हुने



उत्तम नेपाल, भद्रपुर ।
झापामा पहिलो पटक रात्रीकालिन नकआउट फुलबल प्रतियोगिता हुने भएको छ । झापा भद्रपुर नगरपालिका –५ मा रहेको एलेभेन साइनिङ्ग स्टारको आयोजनामा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

क्लबले वुधबार विहान नगर प्रमुख जीवन कुमार श्रेष्ठ लगायतका जनप्रतिनिधि,खेलप्रेमी,पत्रकारसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरि प्रतियोगिताको बारेमा सार्वजानिक गरेको हो । नयाँ वर्षको उपलक्ष्यमा आउँदो वैशाख ३ गतेबाट भद्रपुर माध्यामिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने क्लबका अध्यक्ष दिलिप भूइमालीले बताए ।

खेलाडीहरुको उत्पादनसँगै भद्रपुरमात्र नभएर प्रदेश १ लाइ नै खेलकुदको हव वनाउन यो वर्ष फरक ढङ्गले यस्तो प्रतियोगिता सञ्चालन गर्ने निधो गरिएको अध्यक्ष भूइमालीको भनाइ छ । प्रतियोगिता सञ्चालनको लागि सवै क्षेत्रसँग छलफल र समन्वय भइरहेको उनले जनाए ।
एक महिला टिमसहित नौवटा टिमले सहभागिता जनाउने उनले जानकारी दिए । लगभग नौदिनसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता र उपविजेताले क्रमश १ लाख र ५० हजार नगद पुरस्कार पाउने क्लबले निर्णय गरेको उनले बताए । पुरस्कारसँगै अन्य गरि अनुमानित १४ लाख २० हजार रुपैयाँ खर्च हुने क्लबले जनाएको छ ।

प्रतियोगिता सञ्चालनको लागि क्लबका अध्यक्ष भूइमालीको संयोजकत्वमा ११ जना मूल आयोजक समिति समेत गठन गरिएको छ । समितिको उपाध्यक्षमा विर्जु शाह,सचिवमा भीम पकुवाल, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सदस्यहरुमा रवि मुखिया,नविनचन्द्र गुरुङ्,शिवा महतो,किरण दाहाल,शुभम राय,शौरभ मुखिया र शनी यादव रहेका छन् ।

रात्रीकालिन खेलकुद प्रतियोगिता भएकोले शान्ती सुरक्षा मुख्य चुनौति रहेको वडा नम्बर ४ का अध्यक्ष हङ्सधर राजवंशीले जनाए । कुनैपनि प्रतियोगिता आयोजना गर्दा राजनीतिक गन्ध नआउने गरि साझारुपमा हुनु पर्ने उनको सुझाव थियो । भद्रपुरको साख जोगाउन फुटबल लगायत विभिन्न खेलहरुमा नगरपालिका सकरात्मक रहेको मेयर श्रेष्ठले बताए ।

रात्रीकालिन प्रतियोगिता भएकोले सवैले आ–आफनो क्षेत्रबाट सहयोगि भूमिका निभाउन जरुरी रहेको उनले सुझाव दिएका थिए । रात्रीकालिन फुटबल प्रतियोगिता झापामा पहिलो पटक हुदैछ भने गतसाल विराटनगरमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्