वाउ एयरद्वारा सम्पूर्ण उडान रद्द



लन्डन, (एजेन्सी)
आइसल्यान्डको वाउ एयरले सम्पूर्ण उडान अचानक रद्द गर्दा हजारौं यात्रु अलपत्र परेका छन्। यस एयरलाइनको वेवसाइटले औपचारिक रुपमा सम्पूर्ण सेवा रोकेको र उडान रद्द भएको जानकारी दिएको छ।

वाउले यात्रा गर्न आवश्यक व्यक्तिहरूले अर्कै एयरलाइनहरूमा टिकट बुक गर्न सल्लाहसमेत दिएको छ। यस एयरलाइनले संयुक्त अधिराज्यका लन्डन स्टानस्टेड र ग्याटविकबाट भागेका लगानीकर्ताहरूसंग आर्थिक मामिलाबारे कुराकानी गरिहेको छ।

यसले उद्धार सहुलियतको नाममा केही एयरलाइनले थोरै भाडादरमा उडान गर्न सक्ने र यस्तो सूचना प्राप्त हुनासाथ सार्वजनिक गरिने पनि बताएको छ। वाउले क्रेडिट कार्ड वा युरोपेली ट्राभल एजेन्टमार्फत टिकट बुक गराएका यात्रुले पैसा फिर्ता लिन सक्ने जनाएको छ।

नत्र हवाइ यात्रुको युरोपेली प्रचलित कानुनअनुसार तिनीहरूले वाउसंग क्षतिपूर्तिसमेत दावी गर्न सकिने पनि बताइएको छ। प्रमुख कार्यकारिणी अधिकारी स्कली मोजेन्सेनले सन् २०११ मा वाउको स्थापना गरेको हुन्। सन् २०१२ देखि उडान कार्य शुरु गरेको वाउको कर्मचारी संख्या १ हजार पुगेको थियो। गत वर्ष यसले आफ्ना ११ वटा विमानबाट ३५ लाख यात्रु ओसारेका थिए।

प्रतिक्रिया दिनुहोस्