फोहर र हिलो नियन्त्रणमा पहल थालिने



लतिलपुर महानगरपालिकाको कार्यालयनजिकै थुपारिएको फोहोर र नाक थुन्दै हिँडेकी एक महिला। तस्वीरः रवि महर्जन⁄काठमाडौं

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले महानगरभित्र नियमितरूपमा आउने फोहर र हिलो नियन्त्रणका लागि पहल गर्ने भएको छ । बुधबारदेखि यान्त्रिक कुचो (ब्रमुर) ले बढार्न थाले पनि आज यहाँ भइरहेका निर्माणस्थल र सवारीबाट ठूलो परिमाणमा फोहर सडकमा जम्मा भएको महानगरपालिकाले जनाएको छ ।

एकातिर सफाइ गरिरहँदा अर्कातिर फोहर भित्रिरहने हुँदा नियन्त्रण गर्ने योजना बनाइएको महानगरपालिकाले जनाएको छ । अहिले सम्पदा र निजी आवास निर्माण भइरहेका स्थानबाट नियमितरूपमा धुलो र हिलो सडकमा आएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताउनुभयो । उहाँका अनुसार धरहरालगायत विभिन्न स्थानमा निर्माण सामग्री सडकमा आउँदा सडकमा फोहर आइरहेको छ । उहाँले भन्नुभयो, “हामीले सम्बन्धित पक्षलाई सडकमा फोहर आउन नदिनू भनेर ध्यानाकर्षण गरिरहेका छौँ ।”

पहिले अनुरोध गर्दासमेत अटेर गरेमा कारवाही प्रक्रिया अघि बढाइने प्रवक्ता डङ्गोलले बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरले सडक सफा राख्न ब्रुमर चलाउँदा पनि अर्कातिर सडकमा धुलो र हिलो आइरहने हो भने महानगर सफा हुँदैन ।”

महानगरपालिकाले विभिन्न स्थान समेट्ने गरी रुट बनाएर बुधबारदेखि सडक सफा गर्न शुरु गरेको थियो । पहिलो दिन एकै रातमा १८ टन धुलो सङ्कलन गरेको थियो । गत फागुन २८ गते इटालीबाट पाँच बु्रमर काठमाडौँ ल्याइएको हो ।
रासस

प्रतिक्रिया दिनुहोस्