बनेपा साक्षर नगर घोषणा



नेपाल समाचारपत्र, काभ्रे ।
बनेपा नगरपालिकाले पहिलो पटक ३८ औ स्थापना दिवस आयोजना गरेको छ । स्थापना दिवसको अवसर पारी नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको छ ।

संचार तथा सूचना प्रविविध मन्त्री गोकुल बास्कोटाले नगरलाई साक्षर नगर घोषणा गरे । सोहि कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले विप्लव समुहलाई हतियार छाडेर वार्तामा आउन आब्हान गरे । जिल्लाको विकासका लागि लगानी सम्मेलनमा ५ वटा आयोजना समावेश भएको बताउँदै मन्त्री बास्कोटाले नगरको विकासका लागि विभिन्न योजनाहरु कार्यान्वयनमा रहेको बताए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख लक्ष्मी नरसिं बादेले नगरपालिको फोहरमैलाको दीगो ब्यवस्थापनको लागि ल्याण्डफिलसाइट, ढल प्रशोधन केन्द्र निर्माण तथा घरबाट उत्सर्जन हुने फाहोेरमैलालाई बर्गिकृत गरी दीगो रुपमा ब्यवस्थापन गर्ने, सम्भावनाको आधारमा एक वडा एक कृषि उत्पादन नीतिलाई जोड दिने, नगरक्षेत्र भित्र रहेका ऐतिहासिक धार्मिक तथा पुरातात्विक महत्वको पुराना बस्तीहरुलाई पहिलेकै स्वरुपमा संरक्षण गर्ने, भु–उपयोग नीति तथा भवन आचार संहिता निर्माण गरी कडाइका साथ लागू गर्ने, सामाजिक क्षेत्र अन्र्तगत शिक्षा, स्वास्थ्य, खानेपानी तथा ढल व्यवस्थापन, कृषि, बैकल्पिक कृषि तथा पशुपालन, धार्मिक तथा पर्यटन क्षेत्रको विकास, शहरी विकास र आर्थिक क्षेत्रका क्षेत्रमा विकास गर्ने नगर प्रमुख लक्ष्मी नरसि बादेले बताए ।

नगरपालिकाका १४ वटै वडा कार्यालय छुट्टा छुट्टै ब्यवस्था गरी न्यूनतम कर्मचारीको ब्यवस्था गरिएको नगर प्रमुख बादेले बताए । काभ्रे एकिकृत खानेपानीको कामलाई प्राथमिकता दिईएको छ ।

आयोजना पूर्णताको अवस्थामा पुगेको, बनेपा नगरपालिका भित्र रहेको पुण्यमाता नदी करिडोर स्तरोन्नतीका लागि नगरपालिकाले निर्धारण गरेको मापदण्डका आधारमा सिमांकन गरी कार्य प्रारम्भ गरिएको, मुख्य रुपमा ग्रामीण सडक पूर्वाधारहरु विकास तथा सुधार भएको, बैकल्पिक बाटाहरु निर्माणका क्रममा खोला करिडोर निर्माण शुरु गरिएको, अरनिको राजमार्ग दायाँबायाँ सौन्दर्यकरणका लागि मापदण्ड भित्रका घर पसल हटाई सौदन्र्यकरणको कार्य शुरु भएको, राजश्व परिचालनमा आशातित सफलता, साक्षर नगर घोषणा, मोतिया बिन्दुका बिरामीलाइ निःशुल्क अपरेशन गर्न आर्थिक व्यवस्था गर्नुको साथै आउदो आ.ब. २०७६÷०७७ मा सामुदायिक विद्यालयका निश्चित उमेर समूहका छात्राहरुलाइ स्यानिटरी प्याड निःशुल्क वितरण गने, फोहोरमैला व्यवस्थापनको स्थायी समाधानका लागि जग्गा व्यवस्थापन, लामो समय देखि रहेको अरनिको राजमार्ग फुटपाथ तथा संरचना हटाउने कार्य सम्पन्न, सेवा प्रवाहमा थप सहजता ल्याउन स्थानीय तह संचालनका लागी आवश्यक पर्ने ऐन नियमहरुको तर्जुमा, खुल्ला दिशामुक्त क्षेत्र घोषणा, अन्तरराष्ट्रिय साँस्कृतिक कला केन्द्र स्थापना गर्न सम्भाव्यताको अध्ययन, हिलेजलजले क्षेत्रलाइ पर्यटन, सिंचाइ सहितको बहुउद्देशिय आयोजनाको रुपमा सम्भाव्यता अध्ययन गरिएको छ ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य नविना लामा, प्रदेश सभा सदस्य बसुन्धरा हुमागाई, संस्थापक नगर प्रमुख डा. सुरेन्द्रबहादुर बादे श्रेष्ठ, नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहाल लगायतले मन्तब्य राखेका थिए । ३८ औ स्थापना दिवसको अवसर पारेर संस्कृतविद ज्ञानकाजी मानन्धर लगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्