जटिलताको समाधान खोज्दै न्यायिक समिती



धनवीर दाहाल,रुकुम ।
न्यायिक समितीमा देखिएका जटिलता र त्यसको समाधानका लागी न्यायिक समितीका सदस्यहरु समाधान खोज्न अग्रसर भएका छन् । रुकुम पश्चिममा रहेका ६ वटै स्थानिय तहमा न्यायिक समितीको क्षमता अभिबृद्धिका लागी न्यायिक समितीका सदस्यहरु अग्रसर भएका हुन् ।

बुधबार मुसिकोट नगरपालिका स्थित न्यायिक समितीका सदस्यहरु वडा अध्यक्ष र नगरपालिकाका कानुन अधिकृत सम्मले न्यायिक समितीमा देखिएका जटिलताबारे खुलेर परामर्श गरेका छन् । ग्रामिण युवा सरोकार केन्द्र नेपालले उनीहरुका लागी यस्तो अवसर जुटाईदिएको हो । न्यायिक समितीका कानुनी तथा प्रशासनिक जटिलता र समाधानका प्रक्रियाहरुको बारेमा दुई दिन सम्म छलफल गरिने युवा सरोकार केन्द्रका संस्थापक अध्यक्ष पुस्तक चन्दले बताउनुभयो ।

न्यायिक समितीले हाल सम्म गरेका कामको समिक्षा अर्थात काम गर्दा आएका जटिलता र त्यसको समाधानका लागी अपनाइएका प्रक्रियाका बारेमा अनुभव आदान प्रदान गरिएको छ । पहिलो अभ्यास भएको कारणपनि कतिपय अनुभव नहुनुले केही समस्या भएको मुसिकोट नगरपालिकाकी उपमेयर प्रेमकुमारी सुनारले बताउनुभयो । पहिला अध्ययनको कमि भएको र हाल पनि सोही क्षेत्रमा अध्ययन भएका कर्मचारीको अभावको कारण केही समस्या भएको उहाँको भनाई छ ।

आर्थिक समृद्धि र सामाजिक न्यायले मात्र शान्ति संभव भएको जिल्ला समुन्वय समितीका प्रमुख राजकुमार शर्माको भनाई छ । शर्माले न्यायिक समितीको क्षमता अभिबृद्धिले सामाजिक न्याय संपादनमा थप टेवा पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।

पुनराबेदन अदालत पाटनका पुर्व मुख्य न्यायधिस यकराज आचार्यले नयाँ आएको ऐनको कार्यान्वनका लागी न्यायिक समितीले अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । रुकुम पश्चिमका ६ वटै स्थानिय तहमा न्यायिक समितीसँगको कार्यशाला हुने ग्रामिण युवा सरोकार केन्द्रका कार्यकारी निर्देशक विकास ज्ञवालीले बताउनुभयो ।

उनीहरुसँग कानुनी कुरा र न्यायिक समितीसँग देखिएका जटिलताको गाँठो फुकाउन मद्धतका लागी पुनराबेदन अदालत पाटनका पुर्व मुख्य न्यायधिस यकराज आचार्य, सरकारका पुर्व सहसचिव बिष्णुबहादुर थापा लगाएतको टोली सबै स्थानिय तह सम्म पुग्ने संस्थाका अध्यक्ष मोतीराम बि.कले जानकारी दिनुभयो ।

बुधबार र बिहिबार मुसिकोटमा हुने कार्यक्रम १६ र १७ गते त्रिबेणी गाँउपालिका, १८ र १९ गते बाँफिकोट गाँउपालिका,२० र २१ गते आठबिसकोट नगरपालिका, २२ र २३ गते सानीभेरी गाँउपालिका तथा २४ र २५ गते चौरजहारी नगरपालिकामा हुने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्