हटाउँदै जोड्दै बजारका सौर्यबत्ती



विमल विष्ट, डोटी
रकम भुक्तानी नदिएको भन्दै जिल्लाको प्रमुख व्यापारी केन्द्र दिपायल पिपल्लामा जडान गरिएका सोलार अर्थात् सौर्यबत्तीहरु ठेकेदारले पुःन जडान गर्नथालेको छ । आफूहरुसँग गरिएको सम्झौताअनुसार रकम नदिएको भन्दै दिपायलको पिपल्ला बजारमा जडान गरिएका सौर्यबत्तीहरु ठेकेदारले गएको फागुन २५ गते उखेलेर लगेको थियो ।

दिपायल सिलगढी नगरपालिका नगर प्रमुख मञ्जु मलासी,ठेकेदार कम्पनी मनिङ्ग सन,उद्योग बाणिज्य सँघका पदाधिकारी, जिल्ल प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्याल तथा पत्रकारहरु सहित बसेको बैठकले गरेको निर्णय अनुसार ठेकेदार कम्पनी मनिङ्ग सनले बजारमा उखेलेका सौर्यबत्ती (सोलार बत्ती) अहिले आएर पुःन जोड्न थालेको हो ।

कानुनी व्यवस्था अनुसार नभए पनि व्यवहारिक रुपमा सौर्य बत्ती जडान गर्ने कम्पनीको मर्का एवं सौर्य (सडक बत्ती) उखेलेर लैजाने अस्वभाविक कुरालाई मध्यनजर गर्दै बत्तीमा ह्रास कट्टी र काममा ढिलाई गरेकोमा जरिवाना काटेर भुक्तानी गरिदिन डोटीका निमित्त प्रमूख जिल्ला अधिकारी टेकनारायण पौड्यालको आग्रहमा भएको सहमतीमा आफुहरु बत्ती जडान गर्न लागेको ठेकेदार वेदप्रकाश कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सौर्यबत्ती जडान गरेको रकम नपाउदा हामीलाई समस्या भएकाले बत्ती उखेलेका हौँ,रकम दिने सहमती भएपछि पुःन जडान गर्नथालेका छौँ ।’

जिल्ला प्रशासनमा भएको सहमतीमा ७ दिन भित्रमा सबै सौर्यबत्ती (सडक बत्ती) बिग्र भत्केको मर्मत गरी बलेको हुनुपर्ने र उक्त अवधीमा नगर–पालिकाका प्राविधिकबाट फिल्ड प्रतिवेदन बुझाई दिपायल सिलगढी नगरपालिकाले आगामी नगरसभाबाट बजेट व्यवस्था गरी भुक्तानी गर्ने सहमती भएको छ ।

सम्झौता अनुसार कूल ३२ लाख ७२ हजार ९२५ रुपैंयामध्ये २३ लाख २ हजार ५०० भुक्तानी लिईसकेको र स्वयं उद्योग बाणिज्य सँघले व्यहोर्नुपर्ने रकम ४ लाख ९० हजार ९३८ रुपैया ७५ पैंसा घटाउँदा ४ लाख ७९ हजार ४८६ रुपैंया २५ पैंसा रकम भुक्तानी पाउन बाँकी रहेको देखिन्छ । यसमध्ये पनि उद्योग वाणिज्य सँघले व्यहोर्नुपर्ने जनश्रमदान रकममध्ये २ लाख २५ हजार रुपैंया दिपायल सिलगढी नगरपालिकाको खातामा जम्मा गरिसकेकाले अब ७ लाख ४ हजार ४८६ रुपैंया उक्त कम्पनीले पाउँनु पर्ने देखिन्छ ।

सडक बत्ती जडान कार्यक्रम सञ्चालनका क्रममा प्रक्रिया नपुगेर भुक्तानी हुन नसकेको देखिएको र आफु पछि आएर मात्रै नगर प्रमूखमा निर्वाचित भएकाले यस विषयमा त्यतिबेलाका कर्मचारीलाई थाहा हुने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताउनुभयो । सरकारी अनुदानमा ठेकेदार कम्पनी मनिङ्ग सनले पिपल्ला बजारमा जडान भएका ३० वटा सौर्यबत्ती मध्ये ७ वटा बत्ती हटाएको थियो । तत्कालीन दिपायल सिलगढी नगरपालिकाका कार्यालय प्रमुख तुलसीप्रसाद आचार्यले यो कम्पनीसँग सोलार राख्नेबारे सम्झौता गर्नुभएको थियो ।

त्यतिबेला रकम भुक्तानी नभएको र उहाँ सरुवा भएर अन्यत्र गइसकेपछि पुरानो रकम भुक्तानी गर्न नसकिने दिपायल सिलगढी नगरपालिकाले अडान राख्दै आएको थियो । डोटी उद्योग वाणिज्य सँघ सँग २०७३ फागुन १७ गते नगरपालिकाले ३० लाखमा ३० पोलको सम्झौता गरी सौर्यबत्ती जडानका लागि कार्यादेश दिएको थियो । त्यसपछि उद्योग वाणिज्य सँघले त्यो काम २०७३ फागुन ६ गते मर्निङ्ग सन नेपाल कम्पनीलाई जडानका लागि ठेक्का दिएको थियो ।

कम्पनीले काम गरेबापत दुई पटकको किस्ता गरी २३ लाख रुपैयाँ भुक्तानी पाइसकेपछि बाँकी रकम उद्योग वाणिज्य सँघलाई नै नगरपालिकाले नदिँदा ठेकेदारलाई दिन नसकिएको उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो । बजारमा जडान गरीएका सौर्यबत्ती हटाएपछि ७ दिन सम्म पिपल्ला बजार अन्धकार भएको थियो । बजारमा पुःन सौर्यबत्तीहरु जडान हुन थालेपछि यहाँका स्थायि तथा व्यापारीहरु खुसि भएका छन् । करिब ७ दिन सम्म अन्धकार रहेको दिपायलको बजार फेरी झिलिमिली हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्