कर्णाली नदीबारेको फोटो प्रर्दशनी शुरु



नेपाल समाचारपत्र, काठमाडौं
कर्णाली नदीको उद्गमस्थल तिब्बतको कैलाश पर्वत, कर्णाली नदीले समेट्ने नेपालका विभिन्न भेग र भारतको गंगा नदीका विविध पक्ष चिनाउने तस्वीरको प्रर्दशनी शुरु भएको छ ।

नदीको समग्र वस्तुस्थिती, आसपासको वातावरणीय र पर्यावरणीय महत्वसहित सामाजिक र साँस्कृतिक पक्ष समेटेका तस्वीरको सात दिने प्रर्दशनी शनिवारदेखि शुरु भएको हो । करिव डेढ महिना लामो स्थलगत अध्ययन अवलोकनका क्रममा फोटो पत्रकार नविन बराल र वातावरण पत्रकार रमेश भुसालले खिचिएका तस्वीर प्रर्दशनीमा समेटिएका छन् ।

नेपाल नदी संरक्षण संस्थाको अगुवाईमा गत भदौ ३१ देखि कार्तिक १२ सम्मको पहिलो बैज्ञानिक अन्वेषणका क्रममा खिचिएका करिव २४ हजार तस्वीर मध्येबाट ५० वटा छनोट गरी प्रर्दशनीमा राखिएको पत्रकारद्धयले जानकारी दिनुभयो ।

‘४४ दिनसम्मको १ हजार ८० किमी यात्राका क्रममा हामीले नदी र आसपासको वस्तुस्थितीलाई नजिकबाट नियाल्ने मौका पायौ, त्यहि अनुभवलाई तस्वीर मार्फत बाढ्न चाहेका हौ’–भुसालले भन्नुभयो ।

नेपाल कला परिषद्मा शुरु भएको प्रर्दशनीको शुभारम्भ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गर्नुभयो ।

कर्णाली प्रदेश र मुलुकको आर्थिक विकाससँग जोडिएको कर्णाली नदीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चिनाउन प्रर्दशनी महत्वर्पूण हुने शाहीको भनाई छ ।
कर्णालीमा सधै अभाव र गरिवी मात्रै छैन, प्राकृतिक स्रोत र साधनको प्रचुर संभावना छ भन्ने कुरा विगतदेखि नै चर्चामा थियो, अध्ययन टोलीले कर्णालीलाई झनै फराकिलो ढंगले चिनाएको छ’–उहाँले भन्नुभयो ।

अध्ययन टोलीले दिने राय सुझाव समृद्ध कर्णाली र मुलुकको आर्थिक विकासका लागि महत्वर्पूण हुने उहाँको भनाई थियो ।

४४ दिनको यात्राका क्रममा विभिन्न विधाका वैज्ञानिक, अनुसन्धान सहायक, वातावरण पत्रकार र फोटोपत्रकार सहित १२ जनाको टोली सामेल रहेको नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले जानकारी दिनुभयो ।

आलेका अनुसार यस्तै किसिमको प्रर्दशनी आगामी चैत १४देखि १७ सम्म सुर्खेतमा पनि आयोजना हुँदैछ । सोही बेला संस्थाको अगुवाईमा सुर्खेतमा तेस्रो नदी शिखर सम्मेलन पनि आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्