क्रिकेट रंगशालाका लागि धुर्मुस–सुन्तलीको श्रमदान



हास्यकलाकार तथा समाजसेवी दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले आफ्नो धुुर्मुस–सुन्तली फाउन्डेसनबाट निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपियाँ सहयोगको घोषणा गरेका छन्। दम्पतीले छोरी सुबिहानी कट्टेलको जन्मदिनको अवसरमा उक्त सहयोगको घोषणा गरेका हुन्।

‘हाम्री प्यारी छोरी सुबिहानीको जन्मदिनको अवसरमा हामी निर्माणाधीन रंगशालाका लागि सहयोग गर्न चाहान्छौं’, सीतारामले फेसबुकमा स्ट्याटस लेखेका छन्– ‘हाम्रा हरेक विशेष अवसरलाई यसरी नै समाजसेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्नेछ।’ रंगशालाको विशेष कामले चितवन पुगेका धुर्मुस–सुन्तली बुधबार बेलुकी मात्र काठमाडौं फर्किएका छन्। ‘अहिले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको फिल्डको काम भइरहेको छ। केही समयमै रंगशालाको डीपीआर र डिजाइनको काम सम्पन्न हुनेछ।’ –सीतारामले भने।

रंगशाला निर्माणस्थलमा मंगलबार र बुधबार धुर्मुस–सुन्तली श्रमदानमा व्यस्त थिए। उनीहरूले बालुवा बोक्ने, मसला बनाउने, जस्तापाता बोक्ने जस्ता काम गर्दा श्रमिक पनि हौसिएका छन्। भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन रंगशाला बनाउने चटारोले सीताराम र कुञ्जनालाई भ्याईनभ्याई छ। सामान भण्डार गर्ने भवन, स्टोर र कर्मचारीका लागि आवास निर्माणको काम भइरहेको सीतारामले जानकारी गराएका छन्। टेलिभिजनको पर्दामा देखिएको मनपर्ने कलाकार धुर्मुस–सुन्तली स“गै सिमेन्टको मसला बनाउने र बोक्ने गरेको देखेर सबै दंग परेका छन्।

छोरीको जन्मदिनमा १ लाख सहयोगको घोषणा

निर्माणस्थललाई जस्ताले घेरिएको छ। अहिले प्रारम्भिक चरणको काम भइरहेको छ। उनीहरूले स्थानीयलाई रंगशाला निर्माण सबै नेपालीको सपना भएको भन्दै आफ्नो स्थानबाट सबै लाग्न आग्रह गरेका छन्। आर्थिक सहयोग गर्न नसके पनि श्रमदान गर्न सकिने भन्दै स्थानीयलाई सक्रियता बढाउन आग्रह गरेका उनिहरू आफंै कार्यक्षेत्रमा खटिएर श्रमदानसमेत गरिरहेका छन्। भरतपुर महानगरपालिका–१५ स्थित शान्तिचोकमा रंगशाला निर्माण गर्न लागिएको छ।

निर्माणस्थलमा विभिन्न संघ–संस्थाले समेत श्रमदान गर्न थालेका छन्। रंगशालाको गुरुयोजना र डिजाइनको काम अगाडि बढेको धुर्मुस–सुन्तली फाउन्डेशनका अध्यक्ष कट्टेलले बताए। उनका अनुसार अहिलेसम्म साँढे पाँच करोड सहयोग संकलन भएको छ। ‘एउटा साधारण व्यक्तिले देखेको सपना हो यो, त्यसैले सबै मिलेर सपना साकार पार्ने हो’, सीताराम भन्छन्– ‘यो देश विकासका लागि सबै एक हुने समय आएको छ। राजनैतिक मुद्दाका आन्दोलन सकिएपछि अब विकासको आन्दोलनमा सबै सहभागी हुन जरुरी छ।’

अहिले आर्थिक संकलनको काम पनि भइरहेको जनाउँदै कुञ्जनाले देशभरबाट कसरी आर्थिक संकलन गर्ने भन्ने विषयमा सोच बनाइरहेको जानकारी गराइन्। विदेशबाट पनि सहयोग आउने क्रमजारी रहेको जनाउँदै उनले शिलान्यास गरेको २ वर्षमा रंगशाला निर्माण हुने विश्वास दिलाइन्।

प्रतिक्रिया दिनुहोस्