बालश्रम निषेध सम्बन्धी नीति बनाउदै नगरपालिका



नेपाल समाचारपत्र, डोटी
जिल्लाको दिपायल सिलगढी नगरपालिकाले बाल सँरक्षण एवं बालश्रम निषेध सम्बन्धी नीति, रणनीति र निर्देशिका तयार गर्ने भएको छ । नगरपालिका क्षेत्रभित्र बाल अधिकार शुनिश्चित गरी बालमैत्री नगर बनाउन नीति, रणनीति र निर्देशिका बनाइने दिपायल सिलगढी नगरपालिकाका सामाजिक विकास अधिकृत रमेशचन्द्र जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी बालश्रम मुक्त नगरपालिका बनाउने योजनामा छौँ,सबै सँग छलफल गरेर अगाडी बढ्ने छौँ ।”

सरोकारवालाहरुले दिएको सुझाव सल्लाह, राष्ट्रिय रणनीति, प्रदेशले अवलम्बन गरेका नीतिमा टेकेर नगरको नीति, रणनीति र निर्देशीका बनाइने सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका बाल अधिकार श्रोत व्यक्ति भुवनराज चटौतले बताउनुभयो । नगर क्षेत्रमा बालश्रम निषेध गर्नका लागि नगर उप–प्रमुख शिवराज खड्काको सँयोजकत्वमा एक कार्यदल समेत गठन भएको छ । उक्त समितिले हाल नगरपालिकामा कति जना र क कस्को घरमा बालश्रमिक छन भन्ने तत्थ्यांक सँकलन गरीरहेको उप–प्रमुख शिवराज खड्काले जानकारी दिनुभयो । बालश्रम राख्नेहरुलाई नगरपालिकाले दिने सेवा सुबिधाबाट पनि बञ्चित गराउने बताउदै आएको छ ।

सर्वपक्षीय सहभागिता रहेको कार्यदलले बालश्रम निषेधका लागि यस अगावै मापदण्ड तयार गरीसकेको छ । ति मापदण्डहरु नगर कार्यपालिकाबाट स्विकृत भई कार्यान्वयनको चरणमा रहेको नगरप्रमुख मञ्जु मलासीले बताउनुभयो । जस अनुसार नगरपालिका क्षेत्रमा प्रयोग भईरहेको बालश्रमको तथ्यांक सँकलन गरी बालश्रमिक राख्ने घरमुली, बालश्रममा रहेका बालबालिका र तिनका अभिभावक समेतसँग पटक पटक छलफल भईसकेको नगरपालिकाले जनाएको छ ।

यति गर्दा समेत सम्बन्धीत बालश्रमिक राख्ने व्यक्ति, परिवार, उद्योग, फर्म, व्यवसायीहरुले अटेरी गरेमा बाल श्रमिक राखेको समयसम्म नगरपालिकाले प्रदान गर्ने सेवा सुबिधाहरुबाट बञ्चित गर्ने पनि मापदण्ड बनाइएको छ । त्यस्तै अती कमजोर आर्थिक अवस्था भएका परिवारका श्रमिक बालबालिकालाई नगर क्षेत्रका आवासीय सेवा सञ्चालन भएका विद्यालयसँग समन्वय गरी व्यवस्थापन गर्ने र अर्को व्यवस्था नभएमा श्रमिक बालबालिकाहरुको अध्ययनरअध्यापनका लागि नगरपालिकाले पहल गर्ने कार्यदलको मापदण्डमा समावेश गरिएको छ ।

दिपायल सिलगढी नगरपालिकाले बालमैत्री स्थानीय शासनलाई प्रभावकारी बनाउन बालमैत्री कार्यक्रम सञ्चालन गर्ने, नगर क्षेत्रभित्र बन्ने भौतिक संरचनाहरु बालमैत्री बनाउने, नगर बाल सञ्जाललाई सक्रिय बनाउने, बाल विकास कक्षा, स्वास्थ्य क्षेत्र, पोषण कार्यक्रमलाई प्राथमिकता दिएर काम गर्ने नीति नगर सभाबाटै पारित गरेर अगाडी बढेको दिपायल सिलगढी नगरपालिका कार्यकारी प्रमुख भोजराज शर्माले बताउनुभयो ।

त्यस्तै सामाजिक कूरितीहरु छाउपडी प्रथा, बालबिबाह, छुवाछुूत, घरेलू हिंसा, बाल दूव्र्यवहार जस्ता कूरालाई निरुत्साहित गर्ने, अनिवार्य विद्यालय भर्ना अभियान एवं व्यक्तिगत घटना दर्ता कार्यक्रमलाई वडा एवं नगरमा अभियानको रुपमा सञ्चालन गर्ने नगरपालिकाको नीति रहेको उहाँको भनाई छ । बाल संरक्षण एवं बालश्रम सम्बन्धी नीति, रणनीति र निर्देशिका तयार भएमा बालमैत्री नगर बनाउन सहज हुने नगरपालिकाले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्