खास कृषकले अनुदान नपाएको गुनासो



रामधन राई, खोटाङ
खोटाङस्थित केपिलासगढी गाउँपालिकाले कृषि क्षेत्रमा विनियोजन गरेको अनुदान वजेट खास कृषकले नपाएको गुनासो गरेका छन् । गाउँपालिकावाट प्राप्त हुने कृषि तथा पशुपालन लगायतका अनुदान कृषि पेशामै स्वरोजगार वनिरहेको कृषकलाई नदिई अन्यलाई प्रदान गरिएको स्थानीयको गुनासो छ ।

गाउँपालिकाका केही युवाहरुले कृषि तथा पशुपालन व्यवसायमा नमुना तथा उदाहरणीय काम गरिरहेको भए पनि गाउँपालिकाको अनुदानवाट वञ्चित हुनु परेको स्थानीय गुरुराज राईको गुनासो छ । आर्थिक वर्ष २०७५÷७६ को वजेट तथा कार्यक्रमको सार्वजानिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयले गाउँपालिकाले कृषि क्षेत्रलाई चासो दिँदै खास कृषकलाई सहयोग गर्न सुझाव दिएका छन् ।

कृषि तथा पशुपालनमा वजेट विनियोजन गर्न कञ्जुस्याइँ नगर्न सुझाव दिएका स्थानीयले किसानलाई उन्नत जातको वीउविजन खरिदको लागि वजेट विनियोजन गर्न गाउँपालिकासँग आग्रह गरेका छन् । राज्यले कृषिलाई आधुनिकीकरण गर्ने नीति ल्याए पनि गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले कृषि क्षेत्रको विकासमा चासो नदेखाएको स्थानीयको गुनासो रहेका छन् । गाउँपालिकाको सभाहलमा सम्पन्न सार्वजानिक सुनुवाई कार्यक्रममा पशु सेवा विभागवाट वितरण गरिएको वोका तथा कुखुरा वितरण कार्यमा पारदर्शीता नपाईएको समेत गुनासो गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राई, उपाध्यक्ष हीरादेवी वन गिरी, प्रमुख प्रशासकीय अधिकृत छविलाल राई, राजनीतिक दलका नेता, वडाध्यक्ष लगायतका सरोकारवाला पक्ष सहभागी वनेको सार्वजानिक सुनुवाई कार्यक्रमका सहजीकरण जिल्लाका पत्रकारहरुले गरेका थिए । कार्यक्रममा वडा–वडामा नियमित अनुगमन गर्नुपर्ने, वडामा भईरहेका विकास निर्माण लगायतका योजनाहरुलाई पारदर्शी वनाउन गाउँपालिकाले ध्यान दिनुपर्ने लगायतको सुझाव स्थानीयले दिएका थिए ।

मध्यावधीको सार्वजानिक सुनुवाईमा सहभागी वनेका स्थानीयले गाउँपालिकाभित्रका शिक्षा, स्वास्थ्य, सञ्चार अर्थात ईमेल, ईन्टरनेट, एम्वुलेन्स लगायतको प्रभावकारी सेवामा गाउँपालिकाले चासो दिनुपर्ने सुझवा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्