दैनिक उपभोग्य वस्तुमा मनपरी भाउ



गणेश विष्ट, भोजपुर
भोजपुरमा दैनिक उपभोग्य सामानहरुमा कालोबजारी बढेको छ । व्यापारीहरुले सडकको कारण देखाउँदै दैनिक उपभोग्य सामानमा आफू खुशी भाउ बढाएको सर्वसाधारणको गुनासो छ ।

नेपाल आयल निगमले तोकेको मूल्यअनुसार विराटनगरमा खाना पकाउने ग्यास प्रतिसिलिण्डर १ हजार ३ सय ८० रुपैयाँ छ । तर भोजपुरमा १ हजार ८ सय रुपैयाँसम्म तिर्नुपर्छ । जिल्लामा प्रिमा, सुविधा, कास्यप, रिजालको, कोशी, कन्काइ ब्राण्डको ग्यास बिक्री हुन्छ ।

उद्योग वाणिज्य संघले उपभोक्ताबाट गुनासो बढ्न थालेपछि व्यापारीहरुलाई राखेर मुल्य समायोजनको पहल गरे पनि त्यसको असर परेको छैन । जिल्ला प्रशासन कार्यालयले ताकेता गरेपछि भने ब्यापारीले ग्यासको मूल्य ५० रुपैयाँ घटाउन सहमत भएको उद्योग वाणिज्य संघ भोजपुरका महासचिव नवीन प्रधान बताउँछन् ।

भोजपुरमा तराइबाट सामान ल्याउँदा प्रतिकेजी ५ रुपैया लाग्ने ब्यापारीहरु बताउँछन् । भरिएको ग्यास सिलिण्डरको तौल ४५ किलोग्राम हिसाब गरेर त्यसको ढुवानी ज्याला जोड्दा पनि जिल्लामा प्रतिसिलिण्डर १६ सय ५ रुपैयाँमा पाउनुपर्ने उपभोक्ता बताउँछन् । ग्यास बिक्रेता बद्री श्रेष्ठ धनकुटाको हिलेदेखि लेगुवासम्म स्तरवृद्धि हुँदै गरेको २६ किलोमिटर सडकका कारण महंगो परेको बताउँछन् ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष गणेश श्रेष्ठ ग्यास मात्र नभएर दैनिक उपभोग्य सामानको भाउमा समेत एकरुपता नभएको बताउँछन् । ‘एकै ठाउँबाट एउटै दाममा आएको सामानको पनि भाउ फरकफरक छ, यसको नियमन कसले गर्ने ?’ उनले प्रश्न गरे । एक सिलिण्डर ग्यासको भाउ छिमेकी जिल्ला खोटाङमा १ हजार ६ सय रुपैयाँ र संखुवासभामा १ हजार ६ सय ५० रुपैया भए पनि भोजपुरमा बढी लिइएको श्रेष्ठले बताए ।

प्रमुख जिल्ला अधिकारी हिरादेवी पौड्यालले ग्यासको भाउ वैज्ञानिक बनाउन पटक पटक पहल गरे पनि ब्यापारीले अटेर गरेको बताइन् । चामल, नुन, तेललगायतका अन्य दैनिक उपभोग्य वस्तुको भाउ पनि पसलैपिच्छे फरकफरक छन् । हार्डवेयरका सामान त धरान र विराटनगरमा भन्दा दोब्बर महंगो पर्छ ।

चाडपर्वको बेलामा प्रशासनले बजार अनुगमन गर्ने हुनाले पसलहरुमा मूल्य सूची राख्ने गरिएको छ । पछिल्लो समयमा प्रशासनले शहरदेखि दुर्गम बजारमा समेत अनुगमनलाई तीब्रता दिए पनि कारवाही नहुने गर्दा व्यापारीको मनोमानी बढेको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्