होमस्टे बन्दै प्रधानमन्त्रीले रात बिताएको छाप्रो



हेटौंडा, (नेस)
डा। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा रात बिताएको मकवानपुरको मनहरी–४, ट्वांग्रास्थित बनकरियाको छाप्रोलाई होमस्टेमा रूपान्तरण गरिने भएको छ।मनहरी गाउँपालिकाले यसका लागि तयारी थालेको हो। ‘जनताको घरमा प्रधानमन्त्री’ कार्यक्रमअन्तर्गत् तत्कालीन प्रधानमन्त्री डा। भट्टराई सोमलाल बनकरियाको छाप्रोमा २०६९ माघ २६ गते साविकको हाँडीखोला गाविसको ट्वांग्रामा रहेको बनकरियाको छाप्रोमा बस्नुभएको थियो।

त्यसबेला डा। भट्टराईले सोमलाललाई दुई वटा ब्ल्याङ्केट र १० हजार रुपियाँ सहयोग प्रदान गर्नुभएको थियो। सोही घरलाई होमस्टे बनाउने गरी काम शुरू गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो। उहाँका अनुसार चालू आर्थिक वर्षमा बनकरिया बस्तीमा होमस्टे लगायत काम गर्ने गरी ५ लाख रुपियाँ विनियोजन गरिएको छ। सोही रकमबाट उक्त छाप्रोलाई होमस्टेमा रूपान्तरण गरी पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने योजना गाउँपालिकाको छ।

होमस्टे निर्माणका लागि माया बनकरिया संयोजक रहने गरी होमस्टे व्यवस्थापन समिति गठन गरिएको छ। उपसंयोजक सन्तमाया बनकरिया रहेको समितिमा सदस्यहरू सुन्तली, कान्छीमाया, सानो सोमलाल र धोबे बनकरिया तथा ४ नम्बर वडा अध्यक्ष ध्रुव खड्का संरक्षक हुनुहुन्छ। हेटौंडाबाट करिब १५ किलोमिटर दूरीमा पर्ने बनकरियाको घरमा डा। भट्टराईले नेपालको मौलिक जातिका रूपमा रहेका बनकरिया समुदायको विकासका लागि सरकारले सेवासुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको थियो।

अल्पसंख्यक समुदायको रूपमा रहेका बनकरियाहरू अझै पनि कन्दमूल खाएर जीवन धन्ने गर्छन्। ट्वांग्रा पुग्नुभएका डा। भट्टराईले कन्दमूल गिठ्ठा र भ्याकुरका विभिन्न परिकार चाख्नुभएको थियो। २०६८ सालको जनगणनामा चेपाङको संख्या ६८ हजार ३ सय ९९ जना देखाइएको भए पनि १ सय २६ जातजातिमध्ये बनकरियालाई गणनामा देखाइएको छैन। तर, नेपालमा १ सय २३ भाषाभाषीमध्ये जनगणनामा बनकरिया भाषीलाई देखाइएको छ।

प्रतिक्रिया दिनुहोस्