शिक्षालाई प्रतिस्पर्धात्मक बनाउन मेयर महर्जनको आग्रह



ललितपुर,(नेस) । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले शिक्षालाई प्रतिस्पर्धात्मक बनाउँदै लैजाने नीति महानगरले लिने वताउनुभयो । विहिवार आयोजित निजी तथा आवासीय विद्यालय अर्गनाइजेन प्याव्सन ललितपुरको ललितपुर महानगरपालिका समितिको अधिवेशनलाई सम्बोधन गर्दै मेयर महर्जनले सो कुरा बताउनुभएको हो ।

मेयर महर्जनले शिक्षा क्षेत्रमा निजी क्षेत्रलाई नामेट पार्ने उद्देश्यका साथ आएको उच्च शिक्षा आयोगको प्रतिवेदनले सकरात्मक प्रभाव नपार्ने बताउदै भन्नुभयो–‘उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन ज्यादै त्रुटीपूर्ण छ । अहिलेको प्रतिस्पर्धात्मक युगमा प्रतिवन्ध सकरात्मक हुनै सक्दैन ।’ मेयर महर्जनले यस किसिमको कार्यले शिक्षाको नाममा स्वदेशी पूँजी विदेशिने कार्यलाई क्रमलाई प्रोत्साहित गर्ने वताउनुभयो ।

उहाले ‘शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयलाई प्राथामिकता दिनु पर्छ, यसको अर्थ निजी विद्यालयहरुले गरेको लगानीलाई बेवास्ता गर्नु पर्छ नै भन्ने नभएको उल्लेख गर्नुभयो । मेयर महर्जनले शिक्षा क्षेत्रमा निजी विद्यालयले गरेको लगानी र योगदानलाई प्रशंसा गर्दै धन्यवाद दिनु पर्ने वताउनुभयो । उहाले सामुदायिक विद्यालयलाई प्रोत्सान गर्नका लागि अरबौको लगानी भएको र २ लाख भन्दा पनि जनशक्तिहरुको रोजीरोटीको व्यवस्था भएको निजी शिक्षण संस्थाहरुलाई तहसनहस पर्न नहुने उल्लेख गर्नुभयो ।

उपमेयर गीता सत्यालले ललितपुर शिक्षा क्षेत्रको ‘हब’ भएको वताउनुभयो । उहाले शिक्षा विना विकास सम्भव नभएको वताउँदै ‘शिक्षा क्षेत्रमा उत्कृष्ट नीति निर्माणका लागि हामी यस क्षेत्रका विज्ञहरु र सरोकारवालाहरुसंग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने जानकारी गराउनुभयो ।

उहाले ललितपुर महानगरपालिकाले शिक्षा क्षेत्रमा निजी र सामुदायिक विद्यालयहरुलाई पक्षपात रहित ढंगले संगसंगै समेट्दै लैजाने र त्यही अनुरुप कार्यनीतिहरु तय गर्ने उल्लेख गर्नुभयो ।

त्यसैगरी प्याब्यसनका वरिष्ठ उपाध्क्ष डिके ढुंगानाले शिक्षा क्षेत्रमा निजी क्षेत्रको ५ खर्व लगानी रहेको र २ लाख भन्दा बढि व्यक्तिहरुले रोजगारी पाइरहेको उल्लेख गर्नुभयो । उहाले वार्षिक २१ हजार विद्यार्थीहरु नेपालबाट भारतमा पढ्न जाने गरेको र उनीहरुबाट १२ करोड रुपैयाँ बाहिरिने गरेको वताउनुभयो । उहाले ‘राज्यले निजी क्षेत्रलाई समेट्ने भन्दा पनि उपेक्षा गरेको छ, हामीले गरेको लगानीको उपेक्षा गरेर कसरी समृद्धि हासिल हुन्छ भन्नुभयो ।’

प्याब्सन ललितपुरका अध्यक्ष शिव कार्कीले नेताका छोराछोरी विदेशका पढाउने र नेपालका निजी शिक्षण संस्थाहरुको घाँटी निमोठ्ने कार्य जारी रहेसम्म शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति नहुने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्