२१ जनाद्वारा रक्तदान



म्याग्दी (नेस)
महिलाहरुको आफ्नै व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले बिहीबार सातौं स्थापना दिवस मनाएको छ । स्थापनाको अवसरमा बेनी अस्पताल म्याग्दीको परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरी सहकारीले स्थापना दिवस मनाएको हो ।

रक्तदान कार्यक्रममा विभिन्न २१ जनाले रक्तदान गरेका छन्भने २१ पिन्ट रगत सङ्कलन भएको रक्तसञ्चार केन्द्र म्याग्दीले जनाएको छ । अस्पतालमा उपचार गर्न आउने बिरामीहरुलाई रगत अभावकै कारणले कसैले पनि मृत्यु बेहोर्न नपरोस् भन्ने उद्देश्यसहित सहकारीमार्फत दोस्रोपटक रक्तदान कार्यक्रमको आयोजना गरिएको सहकारीका अध्यक्ष ज्योती लामिछानेले बताउनुभयो ।

रक्तदान कार्यक्रमको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले व्लडव्याग हस्तान्तरण गरी उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगर, अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाल लगायतको उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रमको रक्तसञ्चार केन्द्रका संयोजक सुरत केसी, बेनी अस्पतालको इमरजेन्सी इन्चार्ज तुलसी आचार्य, ल्याब टेक्निसियन यामबहादुर थापा र एमएलए पुष्पा लिम्बुले सहजीकरण गरेका थिए ।

‘महिला वर्गको समृद्धि, सशक्तिकरण र आर्थिक उन्नति’ भन्ने मूल नारासहित स्थापित सहकारीमार्फत सञ्चालित रक्तदान कार्यक्रमको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्योती लामिछानेको अध्यक्षता, उपाध्यक्ष विष्णु गौतम सापकोटाको सञ्चालन र सचिव सुगम श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो ।

सहकारीले स्थापनाकालदेखि नै मुठ्ठीदान अभियान सञ्चालन गरेर त्यसबाट विभिन्न व्यक्ति तथा संस्थालाई आर्थिक र जिन्सी सहयोग गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्