चैत्र १३ देखि १७ गते सम्म ललितपुरमा हस्तकला मेला
नेपाल समाचारपत्र
ललितपुर,
हस्तकला शहरको घोषणालाई समग्र हस्तकला व्यवसायीहरुको हितमा सदुपयोग गर्न हस्तकला मेला उपयोगी हुने सरोकारवालाहरुले बताएका छन् ।
ललितपुर महानगरपालिका – १६ ले आउँदो चैत्रदेखि १७ गतेसम्म हस्तकला तथा सांस्कृतिक मेला आयोजना गर्न लागेको हो । स्थानीयस्तरमा उत्पादित हस्तकला र कालिगढहरुलाई प्रर्वद्धन गर्न मेलाको उद्देश्य रहेको छ ।
विश्व कला परिषद्ले ललितपुरलाई विश्वको ३५ औं हस्तकला नगरी घोषणा गरेको छ । यस पृष्ठभूमीमा गर्न लागिएको सो मेलाबारे सुझाव संकलन गर्न शनिबार सरोकारवाला भेला बोलाइएको थियो ।मेलाको अवधारणाबारे वडाअध्यक्ष निर्मलरत्न शाक्य, कार्यक्रमको रुपरेखा बारे रेणुका बज्राचार्यको प्रस्तुतीपछि आ आफ्नो धारणा राख्दै सरोकारवालाहरुले हस्तकलाको घोषणालाई सुहाउँने गरी मेला आयोजना गर्नुपर्नेमा जोड दिएका थिए ।

सो अवसरमा हस्तकला घोषणा गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेपाल हस्तकला महासंघका निर्वतमान अध्यक्ष धर्मराज शाक्यले घोषणाबाट संस्कृति, सम्पदा संरक्षणसंगै हस्तकला व्यवसायलाई प्रर्वद्धन गर्न अवसर ल्याएको धारणा राख्नुभयो । ‘हस्तकलाका सामग्रीको गुणस्तरीयता, ब्रान्डिङ कायम गर्न अवसर आएको छ । यो अवसरको लाभ उठाउने दिशामा मेला उपयोगी हुनेछ ।’ निर्वतमान अध्यक्ष शाक्यले भन्नुभयो ।
‘घोषणापछि कला ग्यालरी, संग्रहालय, हस्तकला तालिम केन्द्र बनाउनुपर्दछ । ताकि पुस्तौदेखि गदै आएको ज्ञान, सीपलाई हस्तान्तरण गर्न सकूँन् । यस्ता काम गर्न मेलाले सरोकारवालालाई घचघच्याउने छ । ’ उहाँले भन्नुभयो ।
महासंघकाका पूर्वअध्यक्ष समेत रहनुभएका हिरण्यवर्ण महाविहार सुधार समितिका अध्यक्ष विकास धाख्वाले घोषणा अनुरुप वडाको सांस्कृतिक सम्पदा, अर्मूत संस्कृति, हस्तकला व्यवसायीलाई प्रर्वद्धन गर्नुपर्ने खाँचो औल्याउनुभयो । उहाँले भन्नुभयो ‘मेलाले यस दिशामा अघि बढ्न कोशे ढुंङ्गा साबित हुने विश्वास लिएका छौं ।’
ललितपुर हस्तकला संघका अध्यक्ष विसरामसिंह महर्जनले हस्तकला व्यवसायीहरुले भोग्नुपरिरहेको समस्या, कठिनाईलाई सम्बोधनमा सहयोग पुग्ने गरी मेला आयोजना गर्नुपर्ने बताउनुभयो ।नेपाल हस्तकला महासंघका सदस्य प्रदीप शाक्यले वडाका कलाकारहरुलाई एक्स्पोजर गर्ने, चिनाउने काम पनि गर्नुपर्ने बताउनुभयो ।
संघका सदस्य सुभानन्द धाख्वाले मेलालाई उद्देश्यमूलक र नतिजामुखी बनाउन हस्तकला व्यवसायी, निजी क्षेत्र, संस्कृति संरक्षण क्षेत्रमा अनुभव व्यक्तिहरुलाई समावेश गर्दा राम्रो हुने सुझाव दिनुभयो ।
ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले वडाले गर्न लागेको हस्तकला मेला समयको मागलाई बुझेर तय गरिएको कार्यक्रमको संज्ञा दिँदै भन्नुभयो‘ मेला नतिजामुखी र प्रभावकारी हुनुपर्दछ ।’
सो अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, ललितपुर हस्तकला संघका पूर्वअध्यक्ष रुपरत्न शाक्य, समाजसेवी तथा उद्योगी मोतिलाल शिल्पकार, वडा सदस्यहरु सुप्रभा शाक्य, विजय महर्जन लगायतले नेपाल भाषा, संस्कृति, हस्तकला र पर्यटन प्रर्वद्धनलाई टेवा दिने किसिमले मेला आयोजना गर्नुपर्नेमा केन्द्रीत गर्दै आ– आफ्नो धारणा राख्नुभयो ।मेलामा वडाका प्रत्येक टोललाई संलग्न गराउनुपर्ने पनि सहभागीहरुको राय थियो ।अन्तरक्रियाको सहजीकरण वडाका सल्लाहकार दिलेन्द्र श्रेष्ठले गर्नुभयो ।
वडालाई सांस्कृतिक, हस्तकलाको रुपमा विकास गर्न मेला एउटा रणनीति
निर्मलरत्न शाक्य
वडाअध्यक्ष
ललितपुर महानगरपालिका– १६
मेलाले वडा लाईसांस्कृतिक, हस्तकला र पर्यटकीय वडाको रुपमा विकास गर्न टेवा पु¥याउने छ । नेपालमा निर्यात हुने हस्तकलाका सामग्रीहरु मध्ये अत्यधिक हिस्सा ललितपुरको रहेको छ ।ललितपुर महानगरपालिकाको – १६ वडापनि हस्तकलाका सामग्री निर्यात हुने ललितपुको महत्वपूर्ण हिस्सा रहँदै आएको छ ।यहाँका अधिकाशं वडावासीहरुले हस्तकलालाई मुख्य पेशाका रुपमा अगाँल्दै आएका छन् ।पुस्तौदेखि गर्दै आएको ती पेशा नै सयौं परिवारको रोजगारीको महत्वपूर्ण
स्रोत रहेको छ।वडाभित्र विविध स्थानमा हस्तकलाका विविध विधाहरुमा कलाकारहरुको बसोबासका आधारमा धातुका मूर्तिकला, प्रस्तरकला, काष्ठकला, पौभा चित्रको विशेष क्षेत्रको आकार लिएको छ ।विश्व कला परिषद्ले ललितपुरलाई हस्तकला नगरीको घोषणा गर्नुमा यस पृष्ठभूमी पनि महत्वपूर्ण कारण बनेको छ ।
घोषणापछि यहाँका ऐतिहासिक सम्पदा मूलतः मठ, मन्दिर, स्तुप, चैत्य विहार एवं सत्तलहरुको संरक्षण र सम्र्वद्धनका लागि ठोस काम गर्ने अवसर आएको छ । यहाँ उत्पादन भएका हस्तकलाका वस्तुहरुको गुणस्तरीयता कायम गर्ने, कालिगढहरुको लागि तालिम वा प्रशिक्षण केन्द्र, बजार प्रर्वद्धन लगायत गतिविधिहरु तीब्र गतिले हुने नगरवासीहरुले अपेक्षा गरेका छन् । पुस्तौंदेखि हस्तकलाका व्यवसाय अगाँल्दै आएका कालिगढहरुमा घोषणाले उत्साहको सञ्चार गराएको छ ।हस्तकलाको विकास, कालिगढ प्रर्वद्धन, कालिगढले भोग्नुपरिरहेको समस्या समाधानका लागि ठोस नीति, योजना र कार्यक्रम बन्नेमा कालिगढहरुले विश्वास लिएका छन् ।
वडावासी यही भावना, चाहनामा टेकेर यस मेला तय गरिएको हो । हस्तकला नगरी घोषणा भए अनुरुप आवश्यक कार्यहरु बृहतस्तर अघि बढाउनुपर्ने खाँचो छ ।घोषणाले ल्याएको अवसरको अधिकत्तम सदुपयोग गर्ने दिशामा अघि बढ्न यस ललितपुर महानगरपालिका– १६ वडाले गरेको वडास्तरीय प्रयासका रुपमा मेलालाई लिनुपर्दछ । यस अर्थमा हस्तकला तथा सांस्कृतिक मेला दीर्घकालीन लक्ष्यको एउटा प्रस्थान बिन्दु मात्र हो ।
वडालाई सांस्कृतिक, हस्तकलाका वडाको रुपमा विकास गर्ने लक्ष्य राखेको छु । मेला लक्ष्यमा पुग्ने एक रणनीतिक महत्वको कार्यक्रम हो । वडाअध्यक्षमा निर्वाचित भएलगतै गत वर्ष एक सातासम्म धौगल बजारमा दशै व्यापार मेलाको आयोजना गरेको थियो । यस वर्ष यशोधर महाविहार बुबहालमा भएको चार दिने मेलामा मुख्य सहयोगी रुपमा वडाले भूमिका निर्वाह गरेको थियो । दुई वटा मेलाले धेरै कुरा सिकाएको छ।यही सिकाईले पनि हस्तकला र सांस्कृतिक मेलालाई अझ प्रभावकारी र परिणाममुखी बनाउने सक्ने विश्वास लिएको छु ।












प्रतिक्रिया