दीपेन्द्र चम्कँदा नेपालको जित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
दीपेन्द्र सिंह ऐरी चम्केपछि नेपालले यूएईलाई टी–२० क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा ४ विकेटले हराएको छ।
शुक्रबार दुबईमा यो जित हात पारेर नेपालले ३ खेलको टी–२० सिरिजमा १–१ बराबरीमा पु¥यायो। अघिल्ला चार खेलमा निकै निरास बनेका दीपेन्द्रले दबाबमा रहेको स्थितिमा पनि नेपाललाई जित दिलाए। प्लेयर अफ द म्याच उनी ४७ रनमा नटआउट रहेका थिए। लो स्कोरिङ खेलमा नेपालले १ सय ८ रनको लक्ष्य पछ्याएको थियो, जसमा नेपाली शीर्ष ५ खेलाडी ४६ रनमै पवेलियन फर्केका थिए। कमजोर स्थितिमा रहेको नेपाललाई उकासेर दीपेन्द्रले यूएई यात्रामा पहिलो पटक उत्कृष्ट ब्याटिङ प्रस्तुत गरे। जबकि उनी १५ रनमा हुँदा रनआउट हुनबाट जोगिएका थिए।

११औं ओभरदेखि दीपेन्द्र र पवन शराफले छैटौं विकेटका लागि ५५ रनको महŒवपूर्ण साझेदारी गरेका थिए। पवन अन्तिम ओभरको पहिलो बलमा जहुर खानको बलमा लंग अनमा क्याच दिँदै आउट भएका थिए। तर जहुरको दोस्रो बलमा दीपेन्द्रले छक्का प्रहार गरेर स्कोर बराबरीमा पु¥याए। तेस्रो बलमा चौका प्रहार गर्दै उनले ३ बल बाँकी राखेर नेपाललाई जित दिलाए। क्रिक–इन्फोका अनुसार दुबईको आईसीसी एकेडेमीमा करिब १ हजार नेपाली समर्थकले खुसीयाली मनाएका थिए।

यसअघि अनावश्यक गल्ती गरेर नेपाली ब्याटसम्यानले विकेट गुमाएका थिए। कप्तान पारस खड्का दोस्रो बलमै मोहम्मद नाभिदको बलमा डक आउट भएका थिए। अर्का ओपनर प्रदीप ऐरी ८ रन बनाएर अमीर हयातको बलमा आउट हुँदा नेपाल ९ रनको स्थितिमा थियो। उपकप्तान ज्ञानेन्द्र मल्ल पनि ७ रनमै सुल्तान अहमदद्वारा आउट भए। करण केसीले केही हात खोले तर उनलाई इमरान हैदरले बोल्ड गरे। उनले २ चौका र १ छक्काको सहयोगमा २० रनको योगदान दिए। यसपछि पहिलो टी–२० मा अर्धशतक प्रहार गरेका सन्दीप जोरा पनि छिट्टै आउट भएका थिए। १ रन बनाएका उनलाई सुल्तानले आउट गरेका थिए।

यसअघि नेपाली बलरले घातक प्रदर्शन गर्दै यूएईलाई १ सय ७ रनमै समेटेका थिए। जसमा सोमपाल कामीले शुरुआती २ विकेट लिएर यूएईको ब्याटिङ कमजोर बनाएका थिए। त्यस्तै सन्दीप लामिछानेले छैटौं ओभरको पाँचौं र अन्तिम बलमा लगातार विकेट लिएर यूएईलाई अझ पछाडि धकेले। यतिबेला यूएई ३५ रनमा थियो। यद्यपि सीपी रिजवानले ४४ रन जोडेर टोलीलाई सम्मानजनक स्कोरमा पु¥याएका थिए। तर सिमर अविनास बोहराले प्रशंसनीय बलिङ गरे। उनले ४ ओभरमा २० रन दिएर ३ विकेट लिएका थिए। जसमा रिजवानको विकेट पनि समावेश थियो। आइतबार तेस्रो तथा निर्णायक खेल हुनेछ।