सुख्खा बन्दरगाको क्षमता बिस्तारका लागि जग्गा अधिग्रहरण शुरु

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्जको श्रीर्सिया सुक्खा बन्दरगाहको क्षमता विस्तारका लागि ६२ बिघा जग्गा अधिग्रहण गर्ने काम अघि बढेको छ ।

वीरगन्ज महानगर पालिका वडा नं. २५ श्रीसियाको जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो ।पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको मुआब्जा मूल समितिले मुआब्जासम्बन्धी काम अघि बढाएको हो ।

प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार पुस ५ गते मूल समितिले सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको संयोजकत्वमा गठन गरेको उपसमितिले मुआब्जासम्बन्धी प्रारम्भिक काम गरी प्रतिवेदन बुझाएको छ ।उपसमितिमा श्रीसिया सुक्खा बन्दरगाह भन्सार कार्यालय, नापी र मालपोतका अधिकारीहरू छन् ।

उपसमितिले विभिन्न निकायबाट सो क्षेत्रमा जग्गाको कारोबार तथा मूल्याङ्कनका आधारमा प्रतिवेदन बनाएको बताइएको छ । विवरण मगाई अध्ययन विश्लेषण गर्दै मुआब्जाको प्रारम्भिक काम गरिएको छ । ड्राइपोर्ट पश्चिम, पद्मरोड दक्षिण र आइसिपी सडकको पूर्वको ९१९ ओटा कित्ताको जग्गा अधिग्रहण गरी बन्दरगाह विस्तार गर्न लागिएको हो । सो क्षेत्रमा श्रीसिया गाउँको ६४ घर, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, श्रीसिया स्वास्थ्य चौकी, पोखरी, गुठीको जग्गा तथा खेतहरू छन् ।

उपसमितिको प्रतिवेदन अनुसार पद्मरोड दायाँबायाँको जग्गालाई रु ३५ लाख ९५ हजार, आइसिपी सडक छेउको जग्गालाई रु ४४ लाख ८६ हजार, ग्राभेल सडक आसपासको जग्गालाई रु १३ लाख ४९ हजार, कच्ची सडक आसपासको जग्गालाई रु ९ लाख ६७ हजार, विनाबाटोको जग्गालाई रु १ लाख ८० हजार प्रतिकठ्ठाको दरले मूल्याङ्कन गरिएको छ ।

मालपोत, नेपाल राष्ट्र बैंक, वीरगंज महानगर वा ऋण लिंदा गरिएको कारोबार वा ती कार्यालयले विगतमा गरेको मूल्याङ्कन जोडी तीनले भाग गरेर मूल्यांकन निकालिएको उपसमितिका उपसमितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले बताए ।मालपोतको मूल्याङ्कन पुस्तिका अनुसार पद्मरोड आसपासको जग्गाको मूल्याङ्कन रु ३० लाख ५० हजार, आइसिपी सडक छेउको ३८ लाख, ग्राभेल सडक छेउको साढे ६ लाख, कच्ची बाटो भएको जग्गाको चार लाख, विनाबाटोको रु १ लाख ७० हजार प्रतिकठ्ठाको हिसाबले मूल्याङ्कन गरेको छ भने नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार सोही पद्मरोडको रु ५६ लाख, आइसिपी सडकको रु ७० लाख, ग्राभेल बाटोको २७ लाख, कच्ची बाटोको रु २१ लाख, विनाबाटोको रु २ लाख १० हजार मूल्याङ्कन रहेको जनाइएको छ ।

त्यस्तै वीरगंज महानगरपालिकाको मूल्याङ्कन अनुसार पद्मरोडको रु २१ लाख ३५ हजार, आइसिपी रोडको रु २६ लाख ६० हजार, ग्राभेल रोडको साढे ६ लाख, कच्ची बाटोको ४ लाख र विनाबाटोको १ लाख ७० हजार प्रतिकठ्ठा मूल्याङ्कन छ ।

Skip This