लोप हुँदै परम्परागत कोल



सरिता चलाउने, सल्यान ।
सल्यानमा सञ्चालित परम्परागत प्रविधिमा आधारित कोलहरु क्रमिक रुपमा हराउदै जान थालेका छन् । ग्रामीण भेगसम्म यातायातको विकाससँगै परम्परागत कोलहरु हराउदै जानथालेका हुन । नयाँ प्रविधिको विकासक्रमसँगै परम्परागत प्रविधिमा आधारित चिउरी, उखु, अमिलो, र तोरी पेल्ने परम्परागत कोल गाउँबाटै लोप हुदै गएका छन् ।

ग्रामिण क्षेत्रमा यातायातको पहुँच बढ्दै जानु तथा डिजेल मिलको विस्तारसँगै परम्परागत कोल लोप हुदै जान थालेको कुमाख गाउँपालिका वडा न ६ वडागाउँका देव शर्माले बताए । तेलहन बालीको खेती गर्ने प्रचलनमा कमी हुदै जानु तथा बजारमा प्याकिङ गरेर खाने तेल आउन थालेपछि कोल हराउदै गएको उनको भनाई छ । उनले भने ‘बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगबिहिन बन्दै गएका हुन् ।’

कोल लोपसँगै सामुहिक भावनामा पनि विस्तारै दरार पर्दै गएको उनले बताए । गाउँबाट कोल लोप हुदै गएको प्रति चिन्ता व्यक्त गर्दै शर्माले भने ‘के कस्तो जमाना आयो तेलबाली लगाउन पनि छोडे, उखु लगाउन छोडे सबै बजारमै पाइहालिन्छ भनी भन्दै सबै खेती गर्न मायामारी सके । ’

हिउँदको समयमा प्रायः मानिसहरु फुर्स्दिला हुने भएकाले गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर प्रत्येक परिवारले पालैपालो चिउरी, तोरी पेल्ने चलन थियो । आजभोली कोल हराइसकेको छ, बजारमा सजिलै हरेक चिज किर्न सकिने भएपछि मानिसहरु पनि काम गर्न छोडे अर्का किसान हरिलाल शर्माले बताए । उनले भने ‘पहिले त कोल प्रायः सामुदायिक हुन्थ्ये । गाउँभरिकै एउटै कोल भएकाले गाउँभरिका जम्मा भएर पालैपालो तेल पेल्ने र कोललका खाँबा फेर्नु परेमा समुदायका सबै जम्मा भएर ल्याउने गथ्यौ तर आजभोली त कोल गाउँमा देख्न पनि पाइदैन । ’

विगतमा जिल्लाभर सयौंको सख्यामा रहेका यस्ता कोल अहिले लोप भइसकेका छन् । कोलमा तेल पेल्नका लागि बढि जनशक्ति सँगै शारिरिक श्रम पनि बढि लाग्ने तर बजारमा सजिलै बजारमा तेल किन्न पाइने भएपछि कोल लोप हुने अवस्थामा पुगेको हो । गाउँघरका काठबाट हातले बनाइएका विभिन्न मेसिनहरु हराउदै गइरहेका छन् । यसले गाउँको पहिचान समेत मेटिदै गइरहेको शर्माको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्