फ्रान्सको हिउँकलामा नेपालका मूर्तिकार

0
Shares

फ्रान्सको भ्यालोरमा हुने इन्टरनेसनल स्नो फेस्टिभलमा नेपालबाट मूर्तिकार राजु पिठाकोटे, विशाल सारुमगर र दीपेश घिमिरेको टिम छानिएको छ।
जनवरी २२ देखि २५ सम्म हुने फेस्टिभलमा नेपाली समूहले ह्वाइट ड्रप्स् शीर्षकमा हिउँमा मूर्ति बनाउने छन्। माउन्ट एभरेस्ट टिम नाम राखिएको नेपालसहित प्रतिस्पर्धामा विश्वभरिबाट ८ टिम छानिएको मूर्तिकार पिठाकोटेले जानकारी गराए।

४ हजार मिटर उचाइमा हुन लागेको फेस्टिभलमा प्रतिस्पर्धा गर्न जुटेका नेपाली कलाकारले अवार्ड जित्ने विश्वासका साथ काम गर्ने बताए। ‘हामी सक्दो प्रयास गर्नेछौं। पाँचौं स्थानमा पर्न सकियो भने पनि हामीले बनाएका हिउँको कृति संग्रहालयमा संग्रहित हुनेछन्, जुन हाम्रा लागि सुखद समाचार हुनेछ।’ –मूर्तिकार पिठाकोटेले भने। नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी आफूहरूले काम गर्ने पिठाकोटेले जनाए।

उनले भने– ‘हिउँकला हिमालय र हिमालसम्बन्धी फस्टिभलमा बनाउने संसारकै अग्लो सगरमाथाको थिमसँग जोडिएको छ। हिउँका सेता थोपाले व्यक्ति, समूह, गाउँ, शहर अनि पृथ्वीका नराम्रा कुरालाई शुद्धीकरण गर्ने र सुन्दर शान्त पृथ्वी बनाउन सन्देश र सहयोग गर्ने हामीले विश्वास लिएका छौं।’ पिठाकोटे यसअघि कोरिया, जापान, इजरायल, मलेसिया, रसिया, थाइल्यान्ड, बंगलादेश, भारत तथा रोमानियामा भएका मूर्ति कार्यशालामा सहभागी भइसकेका छन्।

उपहारका रूपमा यस हिउँका थोपाले फ्रान्समा प्राकृतिक, सांस्कृतिक, सामाजिक तथा राजनीतिक वातावरणमा अझ शुद्धता दिने विश्वास लिएको अर्का मूर्तिकार विशाल सारुमगरले बताए। विशाल पनि नेपालका विभिन्न मूर्ति कार्यशाला तथा प्रदर्शनीमा सहभागी भइसकेका छन्।

Skip This