नर्वेलाई कार्य क्षेत्र बनाई उतै बस्दै आएका उमेश थापा र कविता गुरुङको वास्तविक जीवनको कथामा बनेको फिल्म बोबीको सिक्वेल बन्ने भएको छ। यसअघि निर्माण गरिएको बोबी देश विदेशमा मन पराइएपछि यसैको सिक्वेलस्वरूप बोबी २ ः बाँकी कथा बन्ने यसबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। यससँगै पहिलोपटक वास्तविक अर्थको सिक्वेल फिल्म निर्माण हुने भएको छ। यसअघि बन्दै आएका सिक्वेल भनिएका फिल्म केबल नामको आधारमा थिए। कथा भन्ने भिन्न हुने गर्दथ्यो।
चाम्स इन्टरटेन्मेन्ट र लन्डन सिने आईको ब्यानरमा निर्माण हुने फिल्म मिलन चाम्सले निर्देशन गर्नेछन्। बोबी उनैले निर्देशन गरेका थिए। सिक्वेलमा पनि उमेश र कविता नै हुनेछन् भने चैत दोस्रो साताबाट सुटिङ फ्लोरमा जाने फिल्म उमेशको संघर्ष र सफलताको कथामा केन्द्रित हुनेछ। यसमा उमेश र कविताका साथमा विजय लामा, एलियास थापालगायतका कलाकार मुख्य भँमिकामा रहनेछन्। पहिलो भागमा अटाउन नसकिएको उमेश र कविताको बाँकी कथा पनि बोबी २ मा हुने निर्देशक चाम्सले बताए।
‘परिवारको आर्थिक अवस्था कमजोर हुँदा उमेशले बाल्यकालमा गरेको संघर्ष र नर्वे पुगेपछि गरेको संघर्ष र सफलताको कथामा फिल्म केन्द्रित हुनेछ’, मिलनले भने– ‘पहिलो पार्टले दर्शकलाई इमोसनल बनाएको थियो। बोबी २ ले दर्शकलाई संघर्ष गर्न प्रेरणा दिनेछ।’ उमेशले आप्mनो कथाले गरिब परिवारमा हुर्किएर संघर्ष गरिरहेका मानिसलाई प्रेरणा दिन सकेको खण्डमा आफँले गरेको मेहनत सफल भएको मान्ने बताए। कविताले भने उमेशको कथा पर्दामा हेर्न आफँ पनि आतुर रहेको बताइन्– ‘उमेशले बाल्यकालमा आर्थिक अवस्था कमजोर भएका कारण विद्यालयको शुल्क बुझाउन नसकेर शिक्षकले बेन्चमाथि उभ्याएको सुनाउँदा म निकै भावुक हुन्छु। अब त्यो सबै कुरा पर्दामा आउँदैछ, म निकै उत्साहित छु।’
फिल्मका लागि नरेश भट्टराई र गिरिराज घिमिरेले संयुक्तरूपमा उमेशको संघर्ष र सफलताको कथालाई पटकथा र संवादमा ढालेका छन्। यसअघिको बोबी पनि नरेश र गिरिराजले लेखेका थिए। फिल्मको ५० प्रतिशत छायांकन नर्वेमा हुनेछ भने बाँकी पोखरा र काठमाडौंमा हुनेछ। फिल्ममा सुदीप बरालको डीओपी र नवराज उप्रेतीको छायांकन रहनेछ भने बनिष शाहले सम्पादन गर्नेछन्।











प्रतिक्रिया