विराटनगर सुपर ओभरमा भाग्यमानी



नेपाल समाचारपत्र
काठमाडौं
विराटनगर वारियर्स जारी एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेट प्रतियोगितामा दोस्रो पटक भाग्यमानी बनेको छ ।
पहिलो खेलमा ललितपुर पेट्रियटस्लाई नाटकीय शैलीमा पराजि गरेको विराटनगरले मंगलबारको खेलमा पोखरा राइनोजलाई सुपर ओभरमा पन्छायो । लो स्कोरको खेलमा विराटनगरले पोखरा सरह ८४ रन बनाएपछि निर्णय सुपर ओभरमा गरिएको थियो । जसमा विराटनगरले २० रन जोड्यो ।

टोलीका लागि करण केसीले पउल कोग्लिनको बलमा दुई छक्का प्रहार गरेका थिए ।

एक÷एक ओभरमा नतिजा छिनोफानो हुने उक्त सुपर ओभरमा पोखराले जित्ने मौका थियो । क्रिजमा विस्फोटक ब्याटसम्यान रिचार्ड लेभी र विनोद भण्डारी पनि थिए । तर रोलफ भान डेर मर्वेले लेभीलाई दुई बलमा एक रन मात्रै लिन दिए । तेस्रो बलमा भण्डारीले छक्का प्रहार गर्दा ३ बलमा ७ रन भयो । पछिको दुई बलमा एक–एक रन जोड्दा पोखराले विराटनगरलाई नतिजा पस्केको थियो । अन्तिम बलमा चौका प्रहार भएपछि पोखरा १३ रनमा समेटियो ।

यसअघि पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षेतिमा ८४ रन जोडेको थियो । विराटनगरका बलर पउल भान मिकेरेनले ३ र भान डेर मर्वेले २ विकेट लिएका थिए । पोखराका कोही पनि ब्याटसम्यान क्रिजमा टिकेर खेल्न सकेका थिएनन् । पउल कोग्लिनले व्यक्तिगत २० रन र राजेश पुलामीले १७ रन जोड्नु नै सर्वाधिक योगदान बनेको थियो । जबकी अन्य खेलाडीले दोहोरो अंक पनि छुन सकेनन् ।

जवाफमा विराटनगरको ब्याटिङ पनि अपत्यारिलो किसिमले पतन भएको थियो । ओपनरमा आएका पारस खड्काले १ रन मात्रै जोड्न सकेका थिए । आसिफ शेखले बनाएको १९ रन नै व्यक्तिगत ठूलो योगदान सावित भएको थियो । पोखराका बलरमा विपिन खत्रीले ३ तथा सुसन भारी, बिक्रम सोब र पउल कोग्लिनले २÷२ विकेट लिएका थिए ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको अर्कोे खेलमा भैरहवा ग्लाडियटर्सले चितवन टाइगर्सलाई १२ रनले हरायो । यो भैरहवाको दोस्रो जित हो भने चितवनको तेस्रो हार हो । भैरहवाले १९.३ ओभरमा अलआउट हुँदै १ सय ४३ रनको योगफल तयार गरेको थियो । जवाफमा चितवनले १ सय ३१ रन बनाएर हारको सामना गर्नु प¥यो । लगातार ३ हारले चितवनको प्रतियोगिताबाट बाहिरिने संभावना पनि उतिकै भएको छ ।

चितवनलाई रोक्न भैरहवाका म्यान अफ द म्याच रायन टेन डोएसकाटेले अलराउन्ड प्रदर्शन गरे । उनले ब्याटिङमा सर्वाधिक ३५ रन जोड्दा ३ छक्का प्रहार गरेका थिए । उनले बलिङमा पनि किफायती हुँदै १ विकेट झारेका थिए । उनले ४ ओभरमा १२ रन दिएका थिए । यस्तै भैरहवाका लागि सरद भेषवाकर र रवि इन्दर सिंहले पनि २–२ विकेट लिएर जित्न सहयोग गरेका थिए । भैरहवाको घातक बलिङमा पउल स्टर्लिङ मात्रै डटेका थिए । उनलाई ३८ रनमा टेन डोएसकाटेले पवेलियन फर्काएपछि चितवनको ब्याटिङ धर्मराएको थियो ।

प्रतिक्रिया दिनुहोस्