ललितपुर पेट्रियटस्को लगातार दोस्रो जित



नेपाल समाचारपत्र, काठमाडौं
ललितपुर पेट्रियटस्ले जारी एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी २० क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ ।

स्टार बलर सन्दीप लामिछानेको अनुपस्थितमा खेलेको पहिलो खेलमा ललितपुरले पोखरा राइनोजलाई सहजै ८ विकेटले हरायो । पोखराले भने लगातार दोस्रो हार बेहोरेको छ । पोखराले १ सय ६७ रनको लक्ष्य दिएकोमा ललितपुरले मात्र २ विकेटको क्षेतिमा २५ बल बाँकी राखेर जित संभव पा¥यो । ओपनर जयकिशन कोल्सावाला र गौरभ तमोरले पहिलो विकेटका लागि सतकीय साझेदारी गर्नु नै टोलीको जितको आधार बनेको थियो ।

उनीहरुले १२ दशमलव ३ ओभरमा १ सय २९ रनको साझेदारी गरेका थिए । जसमा सुसन भारीको बलमा शक्ति गौचनलाई क्याच दिन अघि जयकिशनले ५१ रनको योगदान दिए । उनले ३८ बलमा ४ चौका र ३ छक्का समेत प्रहार गरेका थिए ।

गौरभले भने ८२ रन जोडेका थिए । उनले ४१ बलमा ४ चौका र ८ छक्का प्रहार गरेका थिए । उनी आउट भएपछि सन्नी पटेल २० रन र सोनु तामाङले ११ रनमा नटआउट रहे । पोखराका लागि सुसन र पल कोग्लिनले विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रनको योगफल तयार गरेको थियो । टोलीका लागि ओपनर तथा विस्फोटक ब्याटसम्यान रिचर्ड लेभी फेरि एकपटक जमेका थिए । रिचर्डले ९ छक्का र ३ चौकाको मद्दतमा ८४ रनको योगदान दिँदा काइल कोट्जरले १९ रन मात्रै बनाएका थिए । मध्यक्रममा विनोद भण्डारीले २३ बलमा ३४ रन जोडेका थिए । ललितपुरका बलरम पवन शराफ ३ विकेट लिँदै सर्वाधिक सफल बलर सावित भए ।

काठमाण्डुको विजयी शुरुवात
त्रिवि मैदानमा यसअघिको खेलमा काठमाण्डु किंग्स इलेभेनले चितवन टाइगर्सलाई ६ विकेटले हराएर ईपीएलमा विजयी शुरुवात ग¥यो । चितवनले दिएको १ सय ६१ रनको लक्ष्य काठमाण्डुले ४ विकेटको नोक्सानीमा ७ बल बाँकी राखेर भेटाएको थियो । टोलीको जितमा सुब्रमनीयम आनन्दले विस्फोटक ब्याटिङ गरे । उनले १८ बलमा १ चौका र ४ छक्काको सहयोगमा ४३ रनको योगदान दिएका थिए । चितवनका बलरमा साहब आलमले २ विकेट लिए ।

यसअघि चितवनले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ६० रनको योगफल बनाएको थियो । टोलीका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४५ रनको योगदान दिए । यस्तै पउल स्टर्लिङले ३४ रन र सन्दीप सुनारले २५ रन जोडेका थिए । काठमाण्डुका बलरमा समसाद शेख र प्रदीप साहुले ३÷३ विकेट लिएका थिए । चितवनको यो दोस्रो हार थियो ।

 

प्रतिक्रिया दिनुहोस्