ईपीएलः पोखरामाथि भैरहवाको किर्तीमानी जित



काठमाडौँ ।
ईपीएल अन्तर्गत भैरहवा ग्लाडियटर्सले किर्तीमानी ४ विकेटको जित निकालेको छ । पोखरा राइनोजले दिएको दुई सय १६ रन किर्तीमानी लक्ष्य भैरहवाले ६ विकेट गुमाउदै पुरा गर्यो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले रिचर्ड लेभीको विस्फोटक ब्याटिङका कारण २० ओभरमा ५ विकेट गुमाउँदै दुई सय १५ रन बनायो । पोखराको पारीको सुरुवात गर्न आएको दक्षिण अफ्रिकी खेलाडी लेभीले ३६ बलमा ७९ रन बनाएर आउट हुनुअघि पोखराले स्कोरबोर्डमा एक सय चार रन बनाएको थियो ।

इपिएलमा पहिलो विकेटका लागि यो अहिलेसम्मको ठुलो साझेदारी हो भने सबै भन्दा चाँडो एक सय रन पुरा गर्ने पहिलो खेल बनेको छ । लेभीले सात चौका र सात छक्का प्रहार गरेका थिए । दोस्रो विकेटका लागि सुनील धमला र केली कोट्जेरले पनि ७२ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए ।

तर धमला ३८ रनमा आउट भएपछि पोखराले एक सय ७६ रनमा दोस्रो विकेट खेर फाल्यो । लगत्तै अर्का खेलाडी केली पनि ४७ रनमा पेभेलियन फर्किदा पोखराको तेस्रो विकेट झर्यो । उत्कृष्ट सुरुवात गरेपनि पोखराले अन्तिममा एकपछि अर्को विकेट गुमाउन पुग्यो । उसका विनोद भण्डारी मात्र सात रनमा आउट भए भने राजेश पुलामी मात्र तीन रनमा पेभेलियन फर्किए । पोखराका लागि पउल कोगलिनले २० रन बनाए भने सोरभ खनालले सात रन बनाए ।

जवाफमा भारतीय खेलाडी रवीइन्दर सिंहको विस्फोटक सतकका मद्धतमा भैरहवाले १९ ओभर चार बलमा ६ विकेटको क्षतीमा लक्ष्य पुरा गर्यो । भैरहवाले १२ रनमा पहिलो विकेट गुमायो भने ४८ रन बनाउँदा तीन विकेट खेर फाल्यो । ओपनर प्रदिप ऐरी १४ रनमा आउट भए भने हरीशंकर शाहले खाता खोल्न सकेनन् ।

यस्तै विदेशी खेलाडी रायन टेन डोच्टे १६ रनमा पेभेलियन फर्किए । त्यसपछि उसको स्कोर ७१ रन हुँदा कप्तान शरद भेषवाकर मात्र ६ रनमा आउट भए । एक सय ७१ रन बनाउदा ६ विकेट गुमाएको भैरहवाका लागि आरिफ शेखले २३ रन बनाए । भैरहवाका लागि भारतीय खेलाडी रवी इन्दर सिंहले सतक बनाएका छन ।

१६ रनमा दुई विकेट झरेको अवस्थामा क्रिजमा आएका रवी इन्दरले रायन टेन डोइच्टेसँग ३२ रनको साझेदारी गरे भने आरिफ शेखसँग ८९ रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हालेका थिए । उनले ६० बलमा आठ चौका र १० छक्काको मद्दतले एक सय २५ रन बनाए । बलिङमा सुसान भारी, विक्रम सोब र पउल कोउग्लिनले दुई दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्