विन्ध्यवासिनी अवार्डमा अजर र प्राश्नाले मारे बाजी



रश्मी थापा

नेपाली सांगीतिक श्रेत्रको महत्वपूर्ण अवार्ड मानिएको विन्ध्यवासिनी म्युजिक अवार्डको नवौं सस्करण शुक्रबार राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ। विन्ध्यवासिनी फाउन्डेसनद्वारा आयोजित समारोहमा संगीतकार शक्तिबल्लभ श्रेष्ठलाई नगद १ लाख रुयियाँसहित लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ।

समारोहमा यस वर्षको सर्वोत्कृष्ट गीतको अवार्ड आफ्नै छायाँले बोलको गीतबाट दिलिप योञ्जनले चुमेका छन् भने सर्वोत्कृष्ट एल्बमको अवार्ड सृष्टिका बिम्ब एल्बमबाट बीएल गुरुङ बलुले जितेका छन्। त्यस्तै सुगम संगीततर्फ सर्वोत्कृष्ट गायक गायिकाको अवार्ड क्रमशः चाहिएन सागर बोलको गीतबाट अजर जंगम र ए हावाबाट प्राश्ना शाक्य, संगीतको अवार्ड माया गर्छु मनै मनमा बाट श्रीकृष्ण बम मल्ल, रचनाको अवार्ड मुटु चोरी लाने मायालाई बाट राजुबाबु श्रेष्ठ, महिला गीतकारको अवार्ड सुन्दर फूलको थुंगाबाट पदमा लिङ्खामगर र संगीत संयोजनको अवार्ड तिमी एक प्रेमकथाबाट कमल सौरागले चुमेका छन्।

त्यसै गरी पप गायनतर्फ गायकको अवार्ड तिम्रो कर्ली कपालबाट प्रेमप्रकाश ओली, गायिकाको अवार्ड भेटेरै भन्नु छ बाट दुर्गा खरेल, संगीतको अवार्ड तिमीलाई छुँदै बाट राजु सिंह, युगल गायनको अवार्ड नौलाई शून्य नब्बेबाट रूपकुमार राई र मेनुका राईले चुम्दा लोक दोहोरीतर्फ लोक दोहोरी गीतको अवार्ड रुँदै धररबाट धर्मराज पोखरेल, रचनाको अवार्ड शब्दकोशबाट प्रल्हाद सुवेदी, गायकको अवार्ड वैश आकी छोरीलाई बाट नवीन पौडेल, गायिकाको अवार्ड लठ्ठै पार्यो तिम्रो मायाले बाट मिरा गिरी, दोहारी भाकाको अवार्ड मायाको जालमा फसेको बाट गणेश चौलागार्इं, भिडियो निर्देशकको अवार्ड रातो अबिर पहेंलो केसरीबाट काजिस श्रेष्ठ, नवप्रतिभाको अवार्ड पछ््यौरीको तातोबाट शान्ता परियार तथा मोडलको अवार्ड पापी कालबाट बिमल अधिकारी र रूपा कँडेलले चुमेका छन्।

फिल्मी संगीततर्फ संगीतकारको अवार्ड पर्ख पर्ख मायालुबाट दीपक शर्मा, गायकको अवार्ड चिपक चिपकबाट नरहरी प्रेमी र गायिकाको अवार्ड भन के गरुँबाट जुनु रिजालले चुमेका छन्। आधुनिकतर्फ भिडियो निर्देशनको अवार्ड डन्ट किल मीबाट निशान घिमिरे, मोडलको अवार्ड बहुला बनाउँछु भन्थीबाट दुर्गेश थापा र निशा बोहरा तथा नवप्रतिभाको अवार्ड आधिरातबाट भिजन बास्कोटाले चुमेका छन्। सर्वोत्कृष्ट छायांकनको अवार्ड तिमी एक प्रेम कथाबाट अजय रेग्मी, भिडियो सम्पादनको अवार्ड हरेक साँझबाट विष्णु शर्मा, म्युजिक कम्पनीको अवार्ड एसएस डिजिटलले जितेका छन्।

यस वर्ष विन्ध्यवासिनी अन्तर्राष्ट्रिय संगीत सम्मान अमेरिकामा रहेका विमल डाँगीलाई प्रदान गरियो भने विन्ध्यवासिनी जुरी अवार्ड बलराम राजवंशी, विन्ध्यवासीनी पपुलर च्वाइस अवार्ड करिस्मा ढकाल र रामजी खाण तथा पब्लिक च्वाइस अवार्ड सगुन शाही ठकुरी र देवेन्द्र क्षेत्रीलाई प्रदान गरियो।

त्यस्तै संगीत रत्न सम्मानबाट १५ हजार ५ सय १५ रुपियाँसहित गायक सुगम पोखरेल, कला पत्रकारिता सम्मानबाट २५ हजार ५ सय २५ रुपियाँसहित रमण घिमिरे र १० हजार १ रुपियाँसहित चलचित्र सम्मानबाट निर्देशक मीन भाम सम्मानित भएका छन्। पैसा कमाउने उद्देश्यले नभई नेपाली गीत संगीत र श्रष्टा सम्मानका लागि विन्ध्यवासिनी फाउन्डेसनले यो अवार्डको आयोजना गरिरहेको विन्ध्यवासीनीका सुवास रेग्मीले बताए। समारोहमा म्युजिक भिडियो निर्देशक शंकर बिसी, शिव विक, प्रकाश भट्टको साथमा शर्मिला कोइराला, बिनु शाक्य, अञ्जली अधिकारीलगायतले नृत्य प्रस्ततुत गरेका थिए भने आनन्द कार्की, प्राश्ना शाक्य, रामकृष्ण ढकाल, बिन्दु परियार, सुमित खड्का, शुरेश लामालगायतले गायन प्रस्तुति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्