अभिनय सिकाउँदै सरोज खनाल



रंगकर्मी तथा अभिनेता सरोज खनालले नेपाली कला तथा फिल्म क्षेत्रलाई अभिनयको सवालमा माथि उकास्न अभिनय सिकाउने भएका छन्। उनले अभिनयमा दक्ष युवा जनशक्ति उत्पादन गर्ने उद्देश्यले राजधानीको दरबारमार्गमा एकेडेमी सञ्चालनमा ल्याएका छन्।

माला आर्टस् एकेडेमी नाम दिइएको उनको अभिनय प्रशिक्षण केन्द्र शनिबारदेखि सञ्चालनमा आएको हो। अभिनेता सरोज खनालका साथमा उनको समूहले सञ्चालनमा ल्याएको एकेडेमीमा मंसिर १६ गतेबाट व्यावसायिकरूपमा अभिनयसम्बन्धी पढाइ शुरू हुनेछ।

एकेडेमीकी अध्यक्ष चन्द्रमाला खनालले अभिनयको भोक मेटाउनका लागि एकेडेमीको शुरुआत गरिएको बताइन्। ‘धेरै पहिले मैले अभिनय गरेको नाटक हेर्ने दर्शकले मात्र मलाई चिन्नुहुन्छ। तर, अहिलेको पुस्ताले पक्कै मलाई नचिन्ला। कलाको किराले टोकेपछि त्यसलाई छोड्न नसकिने रहेछ। त्यस कारण पनि हामीले यो एकेडेमी सञ्चालनमा ल्याएका हौं।’ एकेडेमीका प्रबन्ध निर्देशक अभिनेता सरोज खनालले भन्नुभयो– ‘एकेडेमीमा बिहान र बेलुका दुई सिफ्ट गरी जम्मा ३० जना विद्यार्थीले अध्ययन गर्न सक्नेछन्।’

एकेडेमीमा सूर्यमाला खनाल सहध्यक्ष र वीरेन्द्र हमाल अभिनयको प्रमुख रहेका छन्। हरिहर शर्मा, नीर शाह, विप्लव प्रतीक र कृष्ण धराबासी सल्लाहकार रहेको एकेडेमीमा गौरी मल्ल, दिनेश अधिकारी, सौगात मल्ल, प्रशान्त ताम्राकार, विकासराज आचार्य, दिवाकर भट्टराई, न्ह्यु बज्राचार्य र पुरुषोत्तम प्रधान गेस्ट स्पिकर रहनेछन्।

एकेडेमीको शुभारम्भ समारोहमा कवि, गीतकार तथा उद्योगपति वसन्त चौधरी तथा कलाकारहरू भुवन केसी, शिव श्रेष्ठ, अभिनेतृ गौरी मल्ल, सनी रौनियार, सुनील थापालगायतले एकेडेमीलाई शुभकामना दिएका थिए।

प्रतिक्रिया दिनुहोस्