आठबिसकोट नगरपालिकाले संचालन गर्यो आफ्नै अस्पताल



धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले २५ शैयाको नगर अस्पत्ताल संचालन गरेको छ । आठविसकोट नगरपालिका, जाजरकोटको नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका सेवाग्राहीलाई लक्षित गर्दै नगरपालिकाले आफ्नै लगानीमा नगर अस्पताल सञ्चालन गरेकोे हो । साविक आठविसकोट स्वास्थ्य चौकी, दीपज्योती आधारभूत विद्यालय र कृषि सेवाको भवनलाई लिएर नगर अस्पत्ताल संचालन गरिएको हो ।

नगर अस्पतालको उद्घाटन गर्दै पुर्व गृहमन्त्री एवं रुकुम पश्चिमबाट निर्बाचित प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले स्वास्थ्य उपचारको लागी अव सहज भएको बताउनुभयो । महंगो खर्च गरेर बाहिर जानुपर्ने अवस्था अव नरहेको बताउनुहुँदै पुर्वमन्त्री शर्माले आठबिसकोट नगरपालिकाले स्रहानिय काम गरेको बताउनुभयो ।

स्वास्थ्य सेवा जनताको पहिलो प्राथमिकतामा पर्ने भन्दै उहाँले जनतामा यसको सहज पहुँच स्थापित गर्दै सुलभ सेवा दिनका लागि अस्पतालले काम गर्नुपर्ने बताउनुभयो । स्थानीय तहले आफ्नै लगानीमा अस्पताल खोलेको यो पहिलो अस्पताल हो । कार्यक्रममा राष्ट्रिय सभाका सांसद ठगेन्द्रप्रकाश पुरीले जनताको घर आगनमै सेवा सुबिधा दिने आठबिसकोट नगरपालिकालाई धन्यवाद दिनुभयो । यसै गरी अन्य स्थानीय तहले पनि काम गर्न अनुरोध गर्नुभयो ।

नगर अस्पताल उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसी, पर्यटनमन्त्री नन्दसिंह बुढा, कर्णाली प्रदेशका सांसदहरु गोपाल शर्मा र रातो कामी लगाएतको सहभागिता रहेको थियो । आठबिसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर के.सीले नगरपालिकाले गत आर्थिक वर्षको ८० लाख र चालु आर्थिक वर्षको ४० लाख गरी कूल एक करोड २० लाख लगानीमा अस्पताल संचालन गरेको जानकारी दिनुभयो ।

अस्पतालको निर्माण तथा सम्पूर्ण व्यवस्थापन कार्य सम्पन्न भएपछि गत ७ गतेदेखि त्यहाँबाट सेवा समेत सुरु गरिएको थियो । अस्पतालबाट विशेषज्ञ सेवा प्रवाह गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले डाक्टर दिलसाही रोकालाई यहाँ पठाएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्