अक्षम्य अपराधको लर्को



कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधी दुई महिना बितिसक्दा पनि पक्राउ पर्न सकेका छैनन् । सरकारले अपराधी पत्ता लगाउन धेरैवटा छानबिन टोली गठन गरे पनि निर्मलाको बलात्कारपछि हत्या गर्ने अपराधीको अत्तोपत्तो लागेको छैन । सरकारले एकपछि अर्को अनुसन्धान टोली गठन गरेको छ । उच्चस्तरीय छानबिन टोलीले बुझाएको प्रतिवेदनमा पनि अनुसन्धानमा प्रहरीको गल्ती देखाएको छ, बलात्कारी देखाएको छैन ।

सुन तस्करी प्रकरणमा सरकारले ठूला माछालाई समातेरै छोड्ने प्रतिबद्धता व्यक्त गर्दै झन्डै एकवर्षसम्म हौवा फिँजाएको थियो । अहिले आरोपितहरु पनि धमाधम अदालतबाट छुट्न थालेका छन् । ठूलो हलचल ल्याउने गरी अनुसन्धान भएको भनिएको सुन तस्करीमा ठूला माछा समात्ने हैन, साना माछालाई पनि छोड्न थालिएपछि निर्मला हत्या प्रकरण पनि केही दिनपछि बिस्तारै सेलाउँदै जाने र अपराधी उम्कने त हैन भन्ने आममानिसमा आशंका उब्जन थालिसक्यो । यस्ता अक्षम्य अपराधका घटना बढ्दै गएको बारे सरकार चिन्तित देखिँदैन । सरकारमा सहभागी जिम्मेवार पार्टीका नेताहरुबाट सरकारलाई असफल बनाउन यस्ता घटना घटाइएको भन्ने तर्क आउनुले आमजनता शान्तिसुरक्षाप्रति थप निराश भएका छन् ।

यसै बीच सोमबार साँझ मामाघरबाट निस्किएकी पोखराकी १० वर्षीया बालिकाको बलात्कारपछि निर्मम हत्या भएको अवस्थामा मंगलबार शव भेटिएको छ । तेजाव आक्रमणबाट रौतहटकी किशोरी सम्झना दासको मृत्युको खबर फैलँदै गर्दा कावासोती नगरपालिका निवासी अर्की युवती वसन्ती परियारमाथि एसिड र छुरा प्रहार भएको छ । पछिल्लो समय प्रमुख अखबारका पानाहरु यस्तै जघन्य अपराधका समाचारले भरिन थालेका छन् । यति मात्र हैन, काठमाडौं उपत्यकाभित्र जताततै चोरी तथा लुटपाटका घटना बढ्दै गएको छ । सार्वजनिक यातायातभित्र पाकेटमारीको घटनामात्र हैन, सहकारी तथा वित्तीय संस्था, निजी घर–पसलमा समेत देनिक चोरी हुन थालेको छ ।

नजिकिँदो चाडबाडसँगै बढेको चोरीका घटना न्यूनीकरण हुन सकेको छैन । चोरी, लुटपाट तथा पाकेटमारीको घटनामा दर्जनौं समूह उपत्यकाभरि सक्रिय छन् । देशभरका शहरहरुमा यस्ता समूह कति सक्रिय छन् भन्ने बारेमा अनुमानसमेत लगाउन नसकिने अवस्था छ ।
आमनागरिकको शान्तिसुरक्षाको चिन्ता बढ्दै गएको बेला यस्ता घटना बढ्नु र सरकार संवेदनशील नहुनु दुःखद कुरा हो । सकेसम्म घटना हुनै दिनुहुँदैन, घटना भइहालेमा पनि तत्काल प्रभावकारी अनुसन्धान गरी छिटोभन्दा छिटो दोषीलाई कारबाहीका लागि कठघरामा उम्याइहाल्नुपर्छ ।

दोषीलाई कारबाही गर्ने कुरामा सरकार, प्रहरी, न्यायालयलगायत सम्बन्धित निकाय सबैले इमानदारिता देखाउनु जरुरी छ । यस्ता घटनाको अनुसन्धानमा राजनीतीकरण गर्ने, तेरो–मेरो भन्ने, आर्थिक प्रलोभनमा पर्नेजस्ता कार्यले पनि अपराधी उम्किई यस्ता घटना बारम्बार दोहोरिइरहने हुन्छ । त्यसैले यस्ता अक्षम्य अपराध न्यूनीकरण गर्न सरकारले निष्पक्ष भएर दह्रो कदम चाल्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्