विकास निर्माणमा लापरबाही



राज्यले ठूलो बजेट पूर्वाधार निर्माणमा विनियोजन गर्ने गरेको छ । समृद्ध नेपाल निर्माणको लागि यसरी बजेट विनियोजन गरेको धेरै वर्ष बितिसकेको छ । तर सरकारले बाँडेको आश्वासन पूरा भएको पाइँदैन । बोलीमा जस्तो व्यवहारमा देखिँदैन । नेपालको विकास निर्माणको काम भनिने र गरिनेमा मेल खाएको देखिँदैन । सडक निर्माणको काममा सम्झौताको समयसीमा वर्षौं थप्ने प्रचलन सामान्य बन्दै गएको छ । पुल निर्माणमा सरकारी निकायको बेवास्ता र ठेकेदारको मनोमानीको कारण एक वर्षमा निर्माण भइसक्नुपर्ने पुल १० वर्ष बितिसक्दासमेत निर्माण हुन सकेका छैनन् । सरकारले पूर्वाधार निर्माणको काममा जसरी बजेट विनियोजन गरेको हुन्छ त्यसरी नै यसको कार्यान्वयनमा जाँगर देखाएको पाइँदैन ।

कुनै पनि विकास निर्माणको काम गर्दा निश्चित अवधि तोकिएको हुन्छ । त्यो अवधिभित्र काम सम्पन्न हुन्छ कि हुँदैन, सम्झौता अवधिभरमा नै ठेकेदार कम्पनीले काम गर्छ कि गर्दैन ? त्यसको दह्रोसँग अनुगमन गर्ने काम सरकारी निकायको हो । समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने अधिकार पनि सरकारलाई नै छ । तर विडम्बना ! सरकारी निकाय निरीह बन्दै बर्सेनि आयोजनाको म्याद थपेर बस्ने गरेको छ । विकास निर्माणमा आइपर्ने असहज परिस्थितिलाई सहजीकरण गर्ने काम सरकारको हो । तर न असहज परिस्थिति, न कुनै कारण, ठेकेदारहरुको म्याद थप्ने काम परम्परा नै बनिसक्यो । नागरिकहरुमा विकास निर्माणप्रति तीव्र चाहना छ । समृद्धिको ढोका छिट्टै खुलेको हेर्ने आतुर छन् । तर सरकारको काम गराइ भने कुछुवा गतिको छ । नारा र भाषणमा खरायोझैँ गरे पनि काम गराइको तारतम्य भने कछुवा गतिकै छ ।

दुई तिहाइ बहुमतको सरकारले आवश्यक पर्दा विकास निर्माणको क्षेत्रमा देखिने अवरोधलाई समाधान गर्न कानुन नै संशोधन गर्न सक्छ । बाधा–अवरोध पन्छाउन दृढताका साथ लाग्ने इच्छाशक्ति सरकारमा देखिँदैन । विकास निर्माणको काम भद्रगोल र अस्तव्यस्त देखिन्छ । यतिसम्म कि सरकारी निकायहरुबीच नै समन्वय देखिँदैन । राजनीतिमा ठेकेदार, व्यापारीको प्रवेश भएसँगै नीति निर्माण तहमा समेत त्यसको प्रभाव पर्ने गरेको छ । नर्माण क्षेत्रमा लापरबाहीपूर्ण काम गरेको भन्दै पप्पु कन्स्ट्रक्सनका प्रमुखलाई पक्राउ गर्न जिल्ला अदालत रौतहटले पूर्जी जारी गरेको छ । गत भदौ ९ गते रौतहटको लालबकैया नदीमा डुंगा दुर्घटनामा परी पाँचजनाको ज्यान गएको मुद्दामा उनलाई अनुसन्धानका लागि बोलाउँदा नआएपछि पक्राउ गर्न आदेश दिएको हो । समयमा नै पुल निर्माण नहुँदा लालबकैया नदीमा २९ जना सवार डुंगा दुर्घटना हुँदा पाँचजनाको मृत्यु हुन पुग्यो । निर्माण कम्पनीको चरम लापरबाही भएको भन्दै लापरबाही गर्ने पप्पु कन्स्ट्रक्सनविरुद्ध मुद्दा दायर भएको थियो । यो त एउटा उदाहरण मात्र हो, मुलुकमा निर्माण कार्यमा भएका लापरबाही अनगिन्ती छन् । यसमा आमनागरिक नै सचेत हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्