वासिंगटन, (एजेन्सी)
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले बिहीबार आगामी सन् २०२१ सम्ममा उत्तर कोरियालाई निशस्त्रीकरण गर्ने लक्ष्यसहित प्योङयाङसंग अर्को चरणको वार्ता शुरू गर्न आफू तयार रहेको बताएका छन्।
यसै वर्षको शुरूमा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच निशस्त्रीकरण सम्बन्धमा ऐतिहासिक वार्ता भएर यता यस विषयमा थप पहल हुन पाएको छैन। तर हालै सम्मपन्न उत्तर र दक्षिण कोरियाबीचको शिखर सम्मेलनको दौरान किम आफ्नो प्रमुख क्षेप्यास्त्र परीक्षण तथा प्रक्षेपण स्थल बन्द गर्न तयार देखिएका छन्।
त्यसैगरी दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले दशौं हजार उत्तर कोरियालीसामु आफ्नो ऐतिहासिक भाषण पनि दिएका छन्। आफ्ना दक्षिण कोरियाली समकक्षी मुनसंगको प्योङयाङमा भएको भेटवार्ताको दौरान किमले कोरियाली प्रायद्धिपलाई निशस्त्रीकरणको लक्षमा पुर्याउने सहमति व्यक्त गरेका हुन्।
पोम्पियोले यी महत्वपूर्ण प्रतिवद्धताहरुको आधारमा नै अमेरिकाले उत्तर कोरियासँग तत्काल वार्ताका लागि तयारी गर्न थालेको प्रतिक्रिया दिएका छन्। एउटा विज्ञप्ति जारी गर्दै पोम्पियोले आगामी साता न्युयोर्कमा भेटवार्ता गर्नका लागि आफूले उत्तर कोरियाली समकक्षी रि योङ होलाई निमन्त्रणा दिइसकेको तथा अस्ट्रियाको भियनामा ट्रम्प र किमबीचको दोस्रो चरणको वार्ताको तयारी भइरहेको जनाएका छन्।
उनले यसबाट आगामी सन् २०२१ को जनवरीसम्ममा निशस्त्रीकरणको प्रक्रियालाई तिव्र गतिमा अघि बढाउन मद्दत पुर्याउने आशा व्यक्त गरेका छन्।बिहीबार किम र मुनले कोरियाली किंवदन्तीको प्रमुख स्थल मानिने माउन्ट पाएक्टुको भ्रमण गरेका छन्। यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले दुई कोरियाबीच भएका सहमतिको स्वागत गरेका छन्।
त्यसैगरी मुनले पुर्ण निशस्त्रीकरण कार्यलाई चाँडै सम्पन्न गर्नका लागि किम ट्रम्पसंगको दोश्रो चरणको वार्ताका लागि इच्छुक रहेको बताएका छन्।














प्रतिक्रिया