संसद् बैठक ७ गते सकिने



काठमाडौं । संघीय संसदको यो अधिवेशन असोज ७ गते आइतबारबाट अन्त्य हुने भएको छ । प्रतिनिधिसभा कार्य व्यवस्था समितिका सहसचिव बंशीराज पौडेलले ७ गते बैठक सकिने जानकारी दिनुभयो ।

यो बर्षे अधिवेशन बैशाख २३ गतेबाट सुरु भएको थियो । ‘अधिवेशन समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि ६ महिनाभन्दा बढी हुने छैन’ संविधानमा लेखिएको छ । तर बैठक बैठक सञ्चालन नरहेको अवस्थामा बैठक बोलाउनु आवश्यक छ भनी प्रतिनिधिसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यले लिखित आव्हान गरेमा पनि बैठक आव्हान हुन सक्ने छ । राष्ट्रपतिले बैठक आव्हान र अन्त्य गर्नुहुने संवैधानिक व्यवस्था छ ।

संविधानको धारा ९३ मा अधिवेशनको आव्हान र अन्त्यसम्बन्धी व्यवस्था छ ।
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मंगलबार सिंहदरवारमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा यो अधिवेशनमा ३२ वटा विधेयक प्रस्तुत भएको जनाइएको छ ।

३२ मध्ये ६ वटा विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको, १६ वटा मौलिक हक संसदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकामा पठाइएको, ७ वटा विधेयक प्रतिनिधिसभामा र ३ वटा विधेयक राष्ट्रियसभामा रहेको सभामुखले जानकारी दिनुभएको छ । मंगलबारसम्म प्रतिनिधिसभाका ७४ र राष्ट्रियसभाका ५६ वटा बैठक बसेका छन् ।

२०७४ फागुन २१ गतेबाट संघीय संसदको पहिलो बैठक बसेको थियो, यो बैठक चैत २० गतेसम्म चलेको थियो । राष्ट्रियसभाको बैठक आइतबार बसेको थियो । दुवै सदनको बैठक बिहीबार बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्