प्रवेश द्वारको मोटर पुल जीर्ण बन्दै



किरन धामी, दार्चुला
दार्चुला जिल्लाको प्रवेश द्धारका रुपमा रहेको गोकुलेश्वर बजारको मोटर पुल जिर्ण बन्दै गएको छ । शैल्यशिखर नगरपालिका ९ गोकुलेश्वर बजारमा २०५८ सालमा निर्माण भएको उक्त मोटर पुलमा सम्बन्धित निकायको ध्यान नपुग्दा जिर्ण बन्दै गएको हो । मर्मत सम्भार अभावले सडक र यातायातले दार्चुलालाई मुलुक संग जोड्ने उक्त पुल जीर्ण बन्दै गएको स्थानीयले बताएका छन् ।

दार्चुलालाई सडक सञ्जाल संग जोड्न १ सय २० मिटर लामो पुल ५ करोड लागतमा निर्माण भएको हो । १८ वर्ष अघि निर्माण पुरा भएको पक्की पुलको समयमा मर्मत र संरक्षण नहुँदा संरचनाहरु कमजोर बन्दै गएका छन् । निर्माण पश्चात एक पटक मात्रै पुलमा रंगरोगन गरिएको छ । त्यस बाहेक सरोकारवाला पक्षले हेर्न नै छोडेको गोकुलेश्वरका स्थानियले बताएका छन् । यो पुल निर्माण पछि मात्रै दार्चुला राज्यको सडक मार्गको पहुचमा जोडिएको हो ।

चमेलिया पुलले जिल्लाको आर्थिक वृद्धिमा टेवा पु¥याएको छ, भने देशका विभिन्न स्थानबाट दार्चुला भित्रिने सयाँै यातायातका साधनहरु यहि पुल भएर भित्रिने र बाहिरीने गरेका छन् । क्षमता भन्दा बढी र ठुला यातायातका साधनहरुको आवत जावतले उक्त पुल जिर्ण बन्दै गएको हो । पुलको बिच भागमा पिच बिग्रेर खाल्डाखुल्डी परेका छन् । जिल्लाको आर्थिक मेरुदण्डको रुपमा रहेको यो पुल बन्द हुने अवस्था आयो भने दार्चुला झन दुर्गम बन्ने र विकास समेत पछाडि धकेलिने स्थानिय धनराम जोशीको बुझाई छ ।

यो पुल भएर दार्चुला सदरमुकाम र चमेलिया जलबिद्युत आयोजना जाने दैनिक सयौं गाडी आवतजावत गर्ने गर्दछन् । पुलमा साइकल गुड्दा समेत हल्लिने गरेको स्थानियको भनाई छ । पुलमा गाडी चलेको बेलामा पैदल हिड्ने यात्रुहरु पुल हल्लिदा भाचिने होकी जस्तो लाग्ने गरेको गोकलेश्वर–१ का स्थानीय देवदत्त विष्टले बताए । निर्माण कम्पनीले असुरक्षाको कारण देखाउदै रंगरोगन नै नगरी छाडेको स्थानीयले बताएका छन् । अहिले उक्त पुलको पिलर र बारमा खिया लागेको छ ।

पुलको गुणस्तरीय निर्माण कार्य नभएका कारण म्याद सकिन अघि नै जीर्ण हुदै गएको स्थानीयको आरोप छ । निर्माण भएयता मर्मत र हेरचाह नभएको स्थानीय बताएका छन् । जिल्लाको प्रवेश द्धारका रुपमा रहेको उक्त पुलको मर्मत सम्भारमा स्थानीय सरकारले समेत चासो देखाउनु पर्ने गोकुलेश्वर बजारका स्थानीय पुर्ण साउदले बताए ।

प्रतिक्रिया दिनुहोस्