प्रधानमन्त्री शनिबार न्यूयोर्क प्रस्थान गर्दै



नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली आगामी शनिवार अमेरिका जाँदै हुनुहुन्छ । संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली नेतृत्वको २० सदस्यीय टोली न्यूयोर्क जाने तयारीमा जुटेको हो ।

‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔंः शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट’ भन्ने मूल नाराका साथ ७३ औं महासभा मंगलबारदेखि शुरु भएको छ । महासभालाई विभिन्न मुलुकका राष्ट्रप्रमुख, सरकारप्रमुख र उच्चस्तरीय टोलीले सम्बोधन गर्ने कार्यक्रम छ । उच्चस्तरीय सम्बोधन आगामी मंगलबारदेखि सुरु हुने भए पनि प्रधानमन्त्री ओलीले ११ गते विहीवार मात्रै सम्बोधन गर्ने तालिका तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमण टोलीमा प्रधानमन्त्री ओलीसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकर बैरागी, परराष्ट्र प्रवक्ता एवं सह–सचिव भरतराज पौडेल लगायतको टोली रहने बताइएको छ । हाल अस्ट्रिया भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री ज्ञवाली शुक्रबार स्वदेश आएर शनिबारै राष्ट्र संघ प्रस्थान गर्दै हुनुहुन्छ ।

राष्ट्रसंघकै जमघटका क्रममा नेपालले सार्क विदेश मन्त्रीस्तरीय बैठक गर्ने तयारी गरेको छ । सार्क संगठनका गतिविधिलाई निरन्तरता दिने वातावरण तय गर्न त्यस्तो जमघटको तयारी भएको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री न्यूयोर्क पुगेपछि सार्क विदेशमन्त्रीस्तरीय बैठक आयोजना गर्ने तयारी भइरहेको छ, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुले गर्ने अन्य मुलुकका समकक्षीहरुसँगको द्धिपक्षीय भेटघाट र अन्य कार्यक्रम भने तय भइसकेको छैन’–मन्त्रालयका एक अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्